इटहरीः इटहरीकी उपमेयर लक्ष्मी गौतमले बिनासूचना अनुगमन गरेको भन्दै इटहरी ३ का वडाध्यक्ष बालकृष्ण बिष्टले धम्की दिएको अडियो सार्वजनिक भएको छ ।
बुढीखोला अनुगमन गर्न जाने क्रममा वडाध्यक्ष बिष्टले उपमेयर गौतमलाई आफ्नो वार्डमा बिना सूचना किन अनुगमन गर्न गएको भन्दै धम्कीको भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको हो ।

उपमहानगरपालिकाले इटहरी–३ मा रहेको बुढीखोलामा खोला ठेक्का नलगाई राखेको थियो । उपमहानगरपालिका तथा वडा कार्यालयको काममा मर्मत सम्भार गर्न प्रयोग गर्ने गरी खोला ठेक्कामा नलगाई राखिएको बताइएको छ । तर सो क्षेत्रबाट व्यक्तिगत काममा समेत ढुङ्गा प्रयोग हुने गरेको सूचना पाएपछि छड्के अनुगमनको लागि गौतम निस्केकी थिइन् ।

सोमबार दिउँसो नगरसभा सकिएपछि बुढीखोला उत्खनन विषयमा अनुगमन गर्न गौतम इटहरी–३ को बुढीखोलामा अनुगमन गर्न निस्किइन् । अनुगमनको लागि सम्बन्धित क्षेत्रमा खाता र उत्खनन विवरण लिँदै गर्दा इटहरी ३ का वडाध्यक्ष बालकृष्ण बिष्टले उपमेयर गौतमलाई फोन गरेका थिए ।

‘ठेक्का नलागेको ठाउँ हो तर धेरै ट्रिपÞmर माल (ढुङ्गा) हरू गएकाले उपमेयर अनुगमन गर्न आउनुभएको थियो’ नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘तर खाताको विवरण लिँदै गर्दा कसैको फोन आयो । पछि थाहा भयो बालकृष्ण बिष्टजीले फोन गर्नुभएको रहेछ ।’
जवाफमा ‘तपाईँलाई मात्र सोधेर यहाँ आउनुपर्ने ? मलाई कानुनले अधिकार दिएको छ । म जतिबेला पनि अनुगमन गर्न सक्छु’ भनी गौतमले जवाफ दिएको ती स्थानीयले बताए ।

स्थानीय ठाउँमा खोलाजन्य सामग्री अभाव हुँदा प्रयोग गर्ने कार्यपालिकाको निर्णय अनुसार बुढीखोलाको सो क्षेत्रमा ठेक्का लगाइएको छैन । सो क्षेत्रबाट विभिन्न वडाका बाटोमा ढुङ्गा गिटी लाग्ने भन्दै व्यक्तिगत प्रयोजनले गर्दा बाटोमै ढुङ्गा हराउने गरेको भन्दै स्थानीयले केही दिन अगाडि नगरपालिकामा गुनासो राखेका थिए ।

सो गुनासोको आधारमा अनुगमन समितिको संयोजक समेतको भूमिकामा रहेकी उपमेयर लक्ष्मी गौतम अनुगमन गर्न जाँदा वडाध्यक्षले धम्क्याएको अडियो बाहिर आएकोे हो । बुढी खोलाबाट ढुङ्गा हराएको विषय सोमबार बसेको कार्यपालिकाको बैठकमा पनि उठेको थियो ।

बैठकमा पनि सो विषयमा वडाध्यक्षले बिष्टले खोलाबाट निस्किएको ढुङ्गा सही ठाउँमै सदुपयोग भएको भनी बताएको कार्यपालिका स्रोतले बताएको छ । स्रोत भन्छ, ‘उपमेयरले खरो रूपमा छानबिन गरी कारवाही गर्नुपर्ने धारणा व्यक्त गरिरहँदा वडाध्यक्षज्यूले त्यस्तो ठूलो विषय नभएको भन्दै अन्य एजेण्डामा छलफल प्रवेश गराएका थिए ।

यस्तो छ अडियोको भाषाः
उपमेयरः अनि तपाईंबिना मैले ३ नम्बर वडा छिर्नु हुँदैन ?
वडाध्यक्षः मलाई तपाईंले नङ्ग्याउन पार्टी राजनीति गर्न खोज्नु भएको ?
उपमेयरः कसरी नङ्ग्याउन खोजँे मैले ? म आउनुहुँदैन कुनै पनि ठाउँमा ? दिउँसो हिजै...
वडाध्यक्षः रातीउँदो तपाईंको हिसाबमा जाने हो कि दिउँसो उज्यालो भएपछि जाने हो ? मलाई राखेर तपाईंले हेर्दा हुँदैनथ्यो ? के हो तपाईंको मकसत ?
उपमेयरः मलाई जतिबेला अनुकूल भयो त्यतिबेला गएँ । म हिजो खोलामा गइरहेको थिएँ । खोलामा धुलोमा टिप्न सजिलो भएन । टिपर चलिरहेको ठाउँमा । म बेलुका आउँछु भाइ ...
वडाध्यक्षः तपाईंले मलाई के छ बालकृष्ण भाइ ? हेरौँ त्यहाँको रिपोर्ट भनेर अनियमितता गरेको छ भनेँ ? मैले लाएको छ भने...
उपमेयरः तपाईँले गरेको कामको पनि मलाई अनुगमन गर्ने अधिकार छ ।
वडाध्यक्षः तपाईंले आतङ्क मच्चाउने त्यहाँ गएर ?
उपमेयरः यहाँ के आतङ्क मच्चा’को छ ? कल्लाई के भनेको छ ?
वडाध्यक्षः तपाईंले त्यहाँ के भन्नुभइरहेको छ त्यो सबै रेकर्ड भइरहेको छ ।
उपमेयरः आतङ्क मच्चाएको के प्रमाण छ तपाईँसँग ? लु ल्याउनु न त आतङ्क मच्चाएको ।
वडाध्यक्षः त ठिकै छ न त । तपाईंले मात्रै गर्दा हुनेरै’छ । तपाईंको मात्रै रै’छ नगरपालिका भने हेरौंला ल ।
उपमेयरः अब मैले मेरो मात्रै हो भनेको पनि छैन । मैले मेरो काम गर्न पाउँछु ।
वडाध्यक्षः तपाईंले अधिकार छ भने नि मेयरको पिछाडि खुलेर यो हिँडेन भनेर यो कुरा गर्नुहुन्छ होला कि ।
उपमेयरः कानुनले मलाई दिएको अधिकार मैले प्रयोग गरेको छु ।
वडाध्यक्षः तपाईंलाइ मात्रै छ अधिकार ? मलाई चाहिँ अधिकार छैन मेरो वडामा ? तपाईंलाई मात्रै अधिकार छ ?
उपमेयरः तपाईंको अधिकार प्रयोग गर्न मैले रोकेको छु र ?
वडाध्यक्षः अनि तपाईंले चाहि के गर्नुभएको त त्यहाँ गएर ? मेरो वडामा चेकजाँच गर्न जाँदै गर्दा एक वचन मलाई सोध्नुभएको भए हुँदैनथ्यो ?
उपमेयरः म नसोधी आएँ । के गर्नुहुन्छ ? मलाई कानुनी कारवाही गर्नुहोस् । तीन नम्बरमा उपमेयर छिरिन् भनेर मेयरकोमा जानुहोस् । पुलिसकोमा जानुहोस् । मलाई डर छैन ।
वडाध्यक्षः ल ठीक छ । तपाईं ठूलो मान्छे तपाईंलाइ डर छैन । मलाई नि डर छैन । तर, त्यसको परिणाम नराम्रो हुन्छ ।
उपमेयरः के परिणाम ? के गर्नुहुन्छ ? किन धम्क्याउन खोज्नुभएको? मैले के गरँे तपाईंलाई ?
वडाध्यक्षः तपाईं रातीराती गएर मान्छेलाई आतङ्क बनाउने ? तपाईंलाई दिउँसो छैन ? दिन छैन ?
उपमेयरः होइन मैले आतङ्कित बनाएको पनि छैन । केही गरेको छैन । मैले त्यो बाबुलाई ‘बाबू तिमीले हिसाब रामरी राख । दिउँसो भ्याइनँ बेलुका आउँछु है भनेको छु ।’
वडाध्यक्षः कोको गएका छन् भन्ने मैले हेरिसकेको छु ।
उपमेयरः मसँग कोही पनि आएको छैन । म आएँ । आएपछि वरिपरिका छरछिमेकी साथीभाइ मलाई चिन्ने मान्छे आउन सक्दैनन् ?
वडाध्यक्षः कोको गाडीमा चढेर गए हामीले देखेका छौँ ।
उपमेयरः एउटा नगरपालिकाको जनप्रतिनिधि तपाईं आउनुभयो भने नि यहाँका साथीभाइ भेला हुन्छन् । म आएँ भने पनि भेला हुन्छन् । मैले लिएर आएको पनि होइन ।
वडाध्यक्षः तपाईंको गाडीमा चढेर कोको गएका थिए भन्ने पनि थाहा छ ।
उपमेयरः मेरो गाडीमा त कहिले तपाईं चढ्नुहुन्छ कहिले अरु नि चढ्छन नि । मैले बाटोमा साथीभाइ भेट्छु चढाएर हिँड्छु ।
वडाध्यक्षः तपाईंको नगरपालिका रै’छ । गर्नू के के गर्नुपर्छ गर्नू ।

सुन्नुहाेस् माेवाइल कुराकानीकाे अंश