इटहरी/ भारतको सीमासँग जोडिएको सुनसरीको दक्षिणी क्षेत्र घुस्कीमा बुधबार सशस्त्र प्रहरी र स्थानीयको विवाद हुँदा प्रहरीले गोली चलाएको छ । सशस्त्रले १ जना गर्भवती महिलालाई निर्घात कुटेको भन्दै सशस्त्र प्रहरी नायब निरीक्षक दिलबहादुर तामाङ र सशस्त्र प्रहरी हवल्दार कृष्ण साहमाथि स्थानीय जनताले केरकार गरेपछि सशस्त्रले गोली चलाएको प्रहरी स्रोतको भनाइ छ ।

यसै क्रममा सशस्त्र प्रहरीको टोलीले दर्जनौं राउण्ड हवाइ फायर गरेको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरीले फायर गरेको गोली स्थानीय कैजुम जटको हातमा लागेको छ । जटसँगै अन्य ३ जना स्थानीयलाई पनि गोली लागेको बताइएको छ ।

ghusky (2)

स्थानीय तनविर अन्सारीले बताएअनुसार साबिक घुस्की गाविस हालको हरिनगरा गाउँपालिका वडा नं. ७ बस्ने गियास जटकी ३० वर्षीया गर्भवती छोरी मेहनाज खातुनलाई सशस्त्र प्रहरी बल घुस्कीका प्रहरीले कुटपिट गरेका थिए । सशस्त्र प्रहरी बल घुस्कीका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले उनलाई मरणासन्न हुने गरी कुटेको अन्सारीले बताए ।

कुटिएकी भनिएकी खातुनको टाउको, पेट र छातीमा गम्भीर चोट लागेकाले बेहोश अवस्थामा उपचारका लागि अस्पताल लागिएको अन्सारीले बताए । बुधबार साँझसम्म सशस्त्रको टोली, जनपद प्रहरीको टोली प्रहरी चौकी घुस्कीमा बसेको थियो । प्रहरी टोली चौकीमा बसेपछि सयौँ घुस्कीबासी प्रहरी चौकीलाई घेरा हाली बसेका थिए । सशस्त्र प्रहरीका हवल्दार कृष्ण साहले माथिको निर्देशनमा सीमामा चेक जाँच बढाएका कारण स्थानीयलाई आवतजावतमा असहज भएको बताए । त्यसैलाई विषय बनाएर हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले स्थानीयलाई सशस्त्र प्रहरी विरुद्ध उक्साएको उनले आरोप लगाएका छन् ।

स्थानीय र सशस्त्र प्रहरीबीचको विवादको चुरो
सुनसरीको घुस्की भारतीय सीमामा जोडिएको क्षेत्र हो । जहाँबाट नेपालीहरू भारतीय बजारमा गएर दैनिक उपभोग्य वस्तुहरु खरिद गर्छन् । यसै क्रममा सशस्त्र प्रहरीले भारतबाट ल्याइने दैनिक उपभोग्य वस्तु ल्याउन स्थानीयलाई कडाइ गरेको थियो । तोकिएको भन्दा धेरै सामान नल्याउन सशस्त्र प्रहरीले कडाइ गरिरहेको थियो ।

सोही कारण सीमापार गई सामान ल्याएर किनबेच गर्ने नेपाली साना व्यवसायी प्रहरीसँग रुष्ट थिए ।

गत आइतबारका दिन घुस्कीका स्थानीयले हाटबाट खरिद गरी लगेका गोरु र गाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले सशस्त्र प्रहरीका सई तामाङ र हवल्दार साहलाई कुटपिट गरेका थिए ।

प्रहरी कुटिएको ३ दिनपछि १ गर्भवती महिलालाई प्रहरीले निर्घात कुटपिट ग¥यो । सोही कारण स्थानीय जनता र सशस्त्र प्रहरीबीच मुठभेडसम्मको स्थिति बन्न पुग्यो । जसका कारण बुधबार साँझसम्म घुस्की तनावग्रस्त बन्यो ।

ghusky (1)

भन्सार नतिरी खसीबोका ल्याउने समात्दा लफडा ः सिडिओ उप्रेती
यता, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भन्सार नतिरी ४ व्यापारीले खसीबोका ल्याउँदा स्थानीय र सीमाका सशस्त्र प्रहरी बीच विवाद भएर त्यसले उग्र रूप लिएको बताए ।
सिडिओ उप्रेतीले भने, ‘पारीबाट केही व्यापारीले भन्सार नतिरी खसीबोका ल्याएछन् । प्रहरीले रोक्दा तानातान भएपछि स्थानीयले घेरेको भनी फिल्डबाट रिपोर्ट पाएको छु ।’

सामान्य तानातानले उग्र रूप लिँदा प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको उप्रेतीले बताए । सिडिओ उप्रेतीका अनुसार बुधबार साँझ स्थानीय र सशस्त्र प्रहरीबिच वार्ता भएको छ । यो समाचार तयार पार्दासम्म वार्ताको निष्कर्ष भने सार्वजनिक भएको छैन ।