विराटनगर/ आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ देहाय २ को आधारमा पुर्पक्षका लागि थुना आदेश गरेको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिएका छन् ।
अदालतको आदेशमा भनिएको छ, ‘अनुसन्धान तहमा फरार प्रतिवादी पक्राउ परेपछि निजको हकमा मिसिल अध्ययन गर्दा किटानी जाहेरी, अन्य प्रतिवादीको निज उपरको पोल, निजले आपराधिक संगठन स्थापना र सञ्चालन गर्दै आएको सुन तस्करीसम्बन्धी बरामदी रजिस्टर, भरियाहरूलाई अपहरण र शरीर बन्धक गर्दै अमानवीय र क्रुर यातना दिँदा एक सदस्य समेतको मृत्यु भइसकेको प्राप्त प्रमाणहरू भिडियो र श्रव्यदृश्यबाट देखिएको’ उल्लेख गरिएको छ ।
नेपाल सरकार वादी रहने मुद्दामा जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक र सह–न्यायाधिवक्ता रोहित पोखरेल तथा कानुन व्यवसायीहरू डम्बरबहादुर थापा मगर, नगेन्द्रबहादुर थापा र विनोद यादवले तत्काल थुनामा राख्ने आदेश माग गरेका थिए । प्रतिवादी अभियुक्त गोरेको तर्फबाट यामबहादुर मगरले बहस गर्दै गोरेले अपहरण तथा कर्तव्य ज्यान नियत नराखेकाले सादा तारेख माग गरेका थिए । थुनछेक बहसपछि न्यायाधीश शर्माको इजलासले सिदा खान पाउने गरी अदालती बन्दोबस्ती १२१ नम्बर बमोजिम थुनुवा पूर्जी दिई मोरङ कारागार पठाउन आदेश भएको हो ।
४ दिनमा ३७ पेज बयान
चार दिनसम्म गोरेले जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा ३७ पेज बयान लेखाएका थिए । अदालतले यही प्रकरणका ३० प्रतिवादीले उनीमाथि लगाएका अभियोग, सञ्जीव शाक्यको जाहेरी, अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको प्रमाण समेतलाई आधार बनाएर ६२ वटा प्रश्न सोधेको छ । यस अगाडि नै यही समूहका २८ प्रतिवादी पुर्पक्षका लागि थुनामा राख्ने आदेश भइसकेको छ भने अमरबहादुर थापा मगर सादा तारेख र बिष्णुबहादुर खड्का १५ हजार धरौटीमा छुटिसकेका छन् ।
बयानमा गोरेले सुन तस्करी हुने कुरालाई स्वीकार गर्दै उच्च राजनीतिक तहको नेतृत्व र प्रहरीका उच्च अधिकारी समेत संलग्न रहेको बताएका छन् । तर, कुनै व्यक्तिको नाम भने खुलाएका छैनन् । बयानमा गोरेले प्रतिवादीमध्ये महावीरप्रसाद गोल्यान अग्रवाल, प्रमोदकुमार श्रेष्ठ, कपिराज पुरी, हेमन्त गौतम, रोशन भन्ने गुप्तलाल भुसाल, गीता श्रेष्ठ, अमरमान डंगोल, विष्णुबहादुर खड्का, अमर भन्ने अम्बरबहादुर थापामगर, दिवेश लोहनी, प्रजित केसीलाई नचिन्ने दाबी गरेका छन् । यस्तै प्रतिवादीहरू चेतनाथ भण्डारी र भोजराज भण्डारी आफ्नो मामा र निरु भन्ने नर्वदा खरेल उप्रेती आफ्नी श्रीमती रहेको बताएका छन् । उनले अन्य प्रतिवादीहरूलाई दुबई र नेपालमा बस्दाको अवधिमा चिनेको बयानमा बताएका छन् ।
उनले दुबईबाट भारतीय व्यापारीले मगाएको सुन विमानस्थलका कर्मचारीले बाहिर निकाल्न सहयोग गर्ने गरेको बताएका छन् । पछिल्लो साढे ३३ केजी सुन हराएपछि विभिन्न व्यक्तिहरूलाई सोधपुछ गरेको स्वीकार गरेका छन् ।
खत्रीले प्रति केजी ५० हजार लिन्थे
यसैगरी, गोरेले आफ्नो बयानमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री एयरपोर्टमा कार्यरत रहँदा ४ सयदेखि ५ सय केजी सुन विमानस्थलबाहिर निकाल्न सहयोग गरेको खुलाएका छन् । त्यसबापत खत्रीले प्रतिकेजी ५० हजार रुपैयाँका दरले रकम लिएको आरोप लगाएका छन् । यसैगरी, बालकृष्ण सन्जेललाई ३५ लाख रुपैयाँ घर बनाउन सहयोग गरेको र अझै १० लाख रुपैयाँ फिर्ता लिन बाँकी रहेको बताएका छन् ।
लास व्यवस्थापनमा केसीले २ करोड मागे सनम शाक्यको हत्यापछि लास व्यवस्थापनका लागि प्रहरी नायब उपरीक्षक प्रजित केसीले २ करोड माग गरेको भए पनि आफूलाई डर लागेपछि भाग्न बाध्य भएको बताएका छन् । उनले गोविन्द निरौला र विकासराज खनालले सुन तस्करीमा सहयोग नगरेको बताएका छन् भने भुजुङ गुरुङ र सुनिलकुमार अग्रवाल सुनको कारोबारी नभएको बताएका छन् । उनले उनीहरू धेरै पहिलाका कारोबारी भएको बताउँदै आफू छिरिङ गुरुङको लाइनमा काम गर्दै आएको बताएका छन् ।