विराटनगर/ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले प्रदेश १ का सबै विभागीय मन्त्री तथा सचिवहरूलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा सफल ढंगले लाग्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री तथा सचिवहरूलाई एकै ठाउँ राखेर मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् ।

‘हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ । अब कार्यान्वयन पक्ष कस्तो हुन्छ भनेर सबैको ध्यान केन्द्रित भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘यस बजेटको प्रभावकारी कार्यान्वयनमा तपाईहरू आजैबाट लाग्नुहोस् । यदि यो बजेट सफल ढंगले कार्यान्वनय गर्न सकेनौँ भने जनताका सपना पूरा हुँदैनन् । समृद्धिको यात्रा पूरा हुँदैन ।’ बजेट कार्यान्वयन गर्न अलिकति पनि ढिला नगर्न उनले निर्देशन दिए ।

‘बजेट कार्यान्वयनमा केही चुनौती र समस्याहरू छन्, तर चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु हुँदैन,’ राईले भने, ‘व्यवस्थित ढंगले समस्या हल गर्दै अगाडि बढ्नुपर्छ ।’ समयमै प्रदेश सरकार समक्ष हस्तान्तरण हुनु पर्ने संरचनाहरू संघीय सरकारले अहिलेसम्म हस्तान्तरण नगरेकाले संघीय सरकारसँग बारम्बार छलफल भइरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा सबै मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयनको मार्गचित्र प्रस्तुत गरेका थिए ।