विराटनगरः कृषि र विकाससँग सम्बन्धित समाचारको विषयवस्तुबारे जानकारी दिन विराटनगरमा बुधबारबाट कार्यशाला गोष्ठी शुरु भएको छ ।
मिडिया एक्सन नेपाल र हेफर इन्टरनेशनलले विराटनगरमा गरेको कार्यशाला शुक्रबारसम्म चल्नेछ ।
‘मुलुकको ठूलो जनसङ्ख्या कृषिमा निर्भर छ । कृषि पेशालाई परिष्कृत बनाउन पत्रकारिताको आवश्यकता महत्वपूर्ण छ’, मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले भने, ‘समाचारको कोणबारे अन्तरक्रिया कार्यक्रममा छलफल हुने भएकाले पत्रकारको क्षमतावृद्धिमा पनि सहयोग हुन्छ ।’
कृषि तथा आर्थिक विकासका लागि सञ्चारकर्मीले समाचारको माध्यमबाट निर्वाह गर्न सक्ने विषयमा छलफल गरिने बताइएको छ । सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यले आयोजना भएको कार्यशाला गोष्ठीमा प्रदेश १, २, ३ मा कार्यरत ३२ जना सञ्चारकर्मीको सहभागिता छ ।
हेफर इन्टरनेशनलको इटहरी मार्केट क्लस्टरका कार्यक्रम प्रबन्धक दीपेश पोख्रेल, हेफर इन्टरनेशनलकी सञ्चार अधिकृत रेगिना रेग्मी, मेडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त लगायतले कार्यक्रममा सहजीकरण गरिरहेका छन् ।