धरान/ धरानमा प्रदेश नं १ कै सुविधा सम्पन्न हिरासत भवन बन्ने भएको छ सो भवनको सोमबार शिलान्यास भएको छ ।
इलाका प्रहरी कार्यालय धरानको हाताभित्र बनाउन लागिएको भवनको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका हुन् । हाल प्रहरी कार्यालयभित्र रहेको हिरासत कक्ष ज्यादै साँघुरो भएपछि प्रहरी र जनता मिलेर सुविधा सम्पन्न भवन बनाउन लागिएको हो । करिब ४ करोड रुपैयाँ अनुमानित खर्च लाग्ने भनिएको भवन प्रदेशकै नमुना हिरासत भवन हुने निर्माण समितिले जनाएको छ ।
करिब ४० जना क्षमताको थुनुवा कक्षमा अहिले ९० जनाभन्दा बढी थुनुवाहरू कष्टपूर्ण रूपमा बसिरहेका छन् । भवन निर्माण गर्नको लागि धरानका समाजसेवी मीन सुब्बाको संयोजकत्वमा निर्माण समिति गठन भएको छ ।
भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले धरान विकास र जनसहभागिताको नमुना शहर भएकोमा प्रशंसा गर्दै यहाँको विकासको अभ्यासलाई प्रदेश सरकार र अन्य स्थानीय सरकारले पनि अनुशरण गर्नुपर्ने बताए । प्रदेश सरकारले आफ्ना योजनालाई धरानकै अवधारणामा अघि बढाउने पनि उनले बताए । भवन निर्माणमा नगरवासीको सहयोगप्रति खुशी व्यक्त गर्दै मन्त्री कार्कीले भने, ‘धरानको ऐतिहासिकतालाई जोगाउँदै समग्र विकासमा प्रदेश सरकार गम्भीर छ ।’
उनले धरानलाई केन्द्र बनाएर विराट दरबारदेखि मोरङको केराबारी, धरानको विष्णुपादुका, वराहक्षेत्र हुँदै बर्जु तालसम्मको वृहत धार्मिक करिडोरको सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको पनि खुलाए ।
धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले धरानको विकासमा धराने जनताको महत्वपूर्ण योगदान रहेको खुलाउँदै हिरासत भवन पनि जनताकै सहभागितामा पूरा हुने आशा व्यक्त गरिन् । प्रदेश नं १ प्रहरी प्रमुख डिआइजी केदार रिजालले पनि आफू प्रहरी निरीक्षक हुँदादेखि खटिएका क्षेत्रहरूमध्ये धरानमा जस्तो जनसहभागिता कतै नपाएको बताए ।
जनतासँग हातेमालो गर्दै प्रहरीले शान्तिसुरक्षा कायम गराउने उनको भनाइ थियो । धरानका पूर्व नगरप्रमुख एवं निर्माण समितिका सल्लाहकार मनोजकुमार मेन्याङ्बोले पनि धराने जनताको जस्तो साथ सहयोग अन्यत्र नपाइने उल्लेख गर्दै पारदर्शी र मितव्ययी भएर भवन निर्माण गर्न आग्रह गरेका थिए ।
शिलान्यास कार्यक्रममा ५ लाख रुपैयाँको सहयोग
निर्माण हुन लागेको २ तले पक्की भवन ८ वटा कोठाको हुनेछ । भवन निर्माण समितिका अनुसार हालसम्म करिब ३५ लाख बढीको प्रतिबद्धता आइसकेको छ । सोमबार शिलान्यास समारोहमा साढे ५ लाखभन्दा बढी सहयोग रकम तथा चेक हस्तान्तरण भएको थियो । समारोहमा बराह ज्वेलरीका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले व्यक्तिगत रूपमा १ लाख ११ हजार १ सय ११, व्यवसायी गोपाल श्रेष्ठले १ लाख ११ हजार १ सय ११, एस डब्लु लामिछानेले १ लाख र रमेश अटलले पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । यस्तै, समाजसेवी माया राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद हस्तान्तरण गरेकी थिइन् भने पूर्व प्रहरी दिलीप श्रेष्ठले २५ हजार प्रदान गरेका थिए ।
समितिका संयोजक सुब्बाले सुविधायुक्त हिरासत भवन आवश्यक भएकाले नै नगरबासी सबै मिलेर भवन निर्माण गरिन लागेको बताए । सबैको सहयोग आवश्यक भएको बताउँदै उनले सहयोगलाई पारदर्शी रूपमा खर्च गरिने जनाए ।
भवन निर्माण समितिका सदस्य सचिव एवं इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले सबै थुनुवाहरूलाई एकै कोठामा राख्नु उपयुक्त नभएकाले सुविधा तथा पूर्वाधारयुक्त हिरासत भवन बनाउन लागिएको बताए । ‘यो हिरासत भवन यातनागृह होइन, सुधार गृह हुनेछ । थुनुवाहरूको मानसिक तथा शारीरिक अवस्थाअनुसार वर्गीकरण गरेर राखिने व्यवस्था हुन्छ,’ डिएसपी पौडेलले भने ।
उनका अनुसार घटनाको प्रकृति अनुसार, मानवअधिकारको संरक्षणको प्रत्याभूति हुने गरी भवन तयार हुनेछ । साथै, मनोपरामर्श सेवा, शौचालय तथा स्नान गृहको पनि व्यवस्था हुने उनले बताए ।