धरान/ जग्गा विवादको विषयमा तरुण दलका सुनसरी सभापति सिजन गुरुङ र उनको समूहले कुटपिट गरेको घटनालाई गुपचुप राखेको विषयमा घटनास्थलमा गएका प्रहरीसहित अस्थायी प्रहरी चौकी तरहरामाथि अनुसन्धान शुरु भएको छ ।
कुटपिटको घटना शुक्रबार बिहान भए पनि त्यसबारे घटनास्थलमा उपस्थित अस्थायी प्रहरी चौकी तरहराबाट गएका प्रहरीले साँझसम्म पनि प्रहरीको माथिल्लो निकायमा जानकारी दिएका थिएनन् । साँझमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ पेट्रोलिङमा जाँदा मात्र पीडितले भेटेर आफूमाथि कुटपिट भएको जानकारी गराएपछि घटनाबारे डिएसपी श्रेष्ठले थाहा पाएका थिए । त्यसलगत्तै गुण्डागर्दी, कुटपिट र धम्कीको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटना गुपचुप राखेको जानकारी पाएपछि संघीय प्रहरी इकाई धरानका प्रमुख एसएसपी हरिबहादुर पालले संलग्न प्रहरीलाई कारबाही गर्न र तरहरा प्रहरी चौकीको टिमलाई परिवर्तन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि इलाका प्रहरी कार्यालयले स्पष्टीकरण सोध्ने र थप अनुसन्धान गर्ने काम गरिरहेको छ ।
एसएसपी पालका अनुसार बिहान जग्गा नाप्ने विषयमा सिजन गुरुङले एक जना महिला र उनका छोरालाई धम्की दिँदै कुटपिट गरेको घटना साँझसम्म पनि घटनास्थलमा उपस्थित प्रहरीले माथिल्लो निकायमा जानकारी गराएका थिएनन् । प्रहरीकै भूमिका राम्रो नदेखिएको र पुराना भएपछि गुरुङसँग हिमचिम बढेर प्रहरीको आचरण देखाउन नसकेको हुन सक्ने भएकाले पुराना टिम फेर्न निर्देशन दिएको एसएसपी पालले बताए । उनले भने, ‘पुरानालाई परिवर्तन गर्नु भनेको छु । घटनाबारे रिपोर्टिङ नगर्नेलाई कारबाही गर्नुस् भनेको छुँ ।’
इटहरी–२०, तरहराकी तीर्थकुमारी गिरीको जग्गा विवादबारे अमिन, वडाध्यक्ष, प्रहरीसहित भद्रभलाद्मीकै अघि सिजन गुरुङ र उनका युवाले धम्की दिँदै कुटपिट गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । वडाध्यक्ष मणिराम श्रेष्ठ पनि घटनास्थलमा थिए । उनी सिजन गुरुङका निकट व्यक्ति हुन् भने केही महिनाअघि सिजनसँगै बालिका बलात्कारको घटना पैसा लिएर मिलापत्र गराउन संलग्न रहेको आरोप पनि लागेको थियो । त्यसबेला प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि गुरुङसँगै अध्यक्ष श्रेष्ठ पनि फरार भएका थिए ।
‘वडाअध्यक्ष, अमिन, प्रहरीकै अघि धाकधम्की र कुटपिट भएछ, तर यो घटनाको रिपोर्टिङ नै भएन । साँझमा म पेट्रोलिङमा पुग्दा मात्र पीडितबाट थाहा पाएँ । अनुहारमा निलडाम पनि देखँे,’ डिएसपी श्रेष्ठले भने, ‘स्पष्टीकरण लिएर छानबिनको क्रममा छौं ।’
वडाअध्यक्ष श्रेष्ठले आफू घटनास्थलमा उपस्थित भए पनि अमिनसँग जग्गा नाप्ने तरखरमा रहँदा घटना भएको बताए । घटनाको बेला सिजन गुरुङ नभएको र केही समयपछि मात्र आएको अध्यक्ष श्रेष्ठको दाबी छ । ‘सिजनले कुटेको होइन, धम्की पनि दिएको छैन । एउटा भाइले चाहिँ कुटेको हो,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘हामी भद्रभलाद्मी जग्गा विवाद मिलाउनै भनेर गएको हो, सिजनले पनि धम्की दिएको सुनिनँ ।’
तरुण दलका सभापति गुरुङ गुण्डागर्दीको आरोपमा पक्राउ परेको यो पहिलो घटना भने होइन । करिब ५ वर्षअघि उनलाई तरहरामा एक युवामाथि तरवार प्रहार गरेको अभियोग लागेको थियो । करिब ४ वर्षअघि भेडेटारमा मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए ।
बालिका बलात्कारको अपराधलाई पैसा लिएर मिलापत्र गराउन मुख्य भूमिका खेलेको रहस्य खुलेपछि केही महिनाअघि गुरुङसहित अध्यक्ष श्रेष्ठ र अर्का बिचौलिया एवं तरुण दलका जिल्ला उपसभापति सन्तोष बिक पनि फरार भएका थिए । ठेक्कापट्टा, गुण्डागर्दी र रकम असुलीबाट गुरुङले अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ । कांग्रेसमा प्रवेश गरेपछि राजनीतिक संरक्षण र प्रहरी प्रशासनसँगको निकट सम्बन्धले गर्दा गुरुङबाट पीडित भएका कसैले पनि उनीविरुद्ध कतै उजुरी गर्ने वा आवाज उठाउने हिम्मत नगर्ने एक स्थानीयले बताए ।