इटहरी/ राजनीतिक यात्राको क्रममा अनेक हण्डर खाएका कम्युनिष्ट व्यक्तित्व रामेश्वरविक्रम थापा क्यान्सरसँग जुधिरहेका छन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालका समकक्षी रहेका उनी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय बुद्धिजीवि संगठनको उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

उनी सामाजिक कार्यक्रममा पनि उत्तिकै सरिक हुने गर्दथे । उनलाई नजिकबाट चिन्ने अर्जुन गिरी भन्छन्, ‘आफूलाई विशुद्ध सामाजिक अभियान्ताको रूपमा अगाडि बढाउँदै आएका उनलाई परिवारको पनि उत्तिकै साथ थियो ।’

उनको फोक्सोमा देखा परेको क्यान्सरको उपचार गर्न पुख्र्यौली सम्पत्ति बेच्नुपरेको गिरी बताउँछन् । हाल टाउकोको क्यान्सरबाट पीडित उनको उपचार रेडियो थेरापीबाट सम्भव हुने र उपचारमा ५ देखि ६ लाख लाग्ने डाक्टरले बताएको गिरीले बताए ।

उनको उपचारका लागि सरकारसँग आर्थिक सहयोगको अपिल गर्दा बेवास्ता गरेको गिरी बताउँछन् । ‘त्यही राजनीतिक बाटोबाट सत्तामा पुग्नेहरूले आफ्नो स्वास्थ्य उपचारमा राज्यको अकुत सम्पत्ति प्रयोग गर्ने, तर निमुखा इमान्दार नागरिक पार्टीका बफादार कार्यकर्ताको यस्तो हालत हुनु दुःखदायी छ,’ गिरीले भने, ‘संवेदनशील विषयमा राज्यबाट सही समयमा राहत नपाउने हो भने नेपालमा नेतृत्व परिवर्तन भयो तर राजनीतिक व्यवस्था परिवर्तन भएन भनी भन्न गाह्रो भएन ।’