इटहरीः बिहान बाक्लो हुस्सु लागेको थियो । तर, खासै चिसोको अनुभूति थिएन । यस्तै, समयमा लक्ष्मी ढकाल बुबालाई अस्पताल लग्ने तरखरमा भएका आफन्तलाई खैनी लिन नजिकको पसलमा पुगिन् ।

४ दिन अघि गाडीले ठक्कर दिएपछि लक्ष्मीका बुबाको खुट्टा भाँच्चिएको थियो । खुट्टामा समस्या आएपछि पुनः चिकित्सकसँग सल्लाह लिन उनी अस्पताल जान लागेका थिए । आफन्तहरू लक्ष्मीका बुबालाई सहयोग गर्न पुगेका बेला ठुलोबुबाले उनलाई खैनी किन्न पठाएका थिए ।

यता, घरमा बुबालाई अस्पताल लग्ने चाँजोपाँजो शुरु भयो । सडक छेउको घर, ट्रिफरको आतङ्क सहिनसक्नु हुन्थ्यो । ‘साँघुरो बाटोमा बत्तिएर आउने ट्रिफरले कसको ज्यान लिने हो नि,’ स्थानीय यस्तै गुनासो गर्थे । नभन्दै उक्त समयमा लक्ष्मीको टाउकोमाथिबाट ट्रिफर गुड्यो ।

चप्पल लगाएर खुर्र घरबाहिर के निस्केकी थिइन्, ट्रिफरले सदाका लागि उनको चोला उठायो । अस्पताल हिँड्न ठिक्क परेका बाबुको होश उड्यो । अहिले ढकाल परिवार पीडाको सागरमा छ ।

मोरङको सुन्दरहरैँचा– ९ को सिसांैघारी चोक यतिबेला पीडामा छ । विराटचोकदेखि करिब २ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सयौँको सङ्ख्यामा स्थानीय सडकमा बसेका छन् । उनीहरूले ठक्कर दिने ट्रिफर चालकलाई हदै सम्मको कारवाहीको माग गरिरहेका छन् ।

साँघुरो सडकमा ट्रिफर चलाउन अनुमति नदिने भनी प्रशासनलाई जति गुहारे पनि उत्तरी मोरङबाट ढुङ्गा, गिटी तथा बालुवा लिएर आउने दर्जनौैँ ट्रिफरको दोहोरीलत्ता सो बाटोमा हुन्थ्यो । विद्यालय समयमा ट्रिफर नचलाउन जति आग्रह गरे पनि कसैले नसुनेको स्थानीय भोेगेन्द्र न्यौपानेले बताए ।

‘लक्ष्मी त आफ्नै साइडमा थिइन्, ट्रिफरले ब्याक गरेर मारेछ,’ उनले भने, ‘हाम्रा कुरा कसैले सुनेनन् अब यसैगरी मान्छे मारिरहने भइयो ।’