विराटचोकः आज बिहान जब सडकमा मुढो झैँ लक्ष्मी ढकाल ढलेकी थिइन् चलमल गर्न सक्ने अवस्थामा थिइनन् । उनका छिमेकी, आफन्त र स्थानीय आगो झैँ आक्रामक थिए । उनीहरू सडकमा गुडिरहेका ट्रिफरलाई ताकेर ढुङ्गा बर्साइरहेका थिए । पेट्रोल छर्किएर आगो लगाउने क्रम जारी थियो । यो घटना आज बिहान पौने ९ बजेपछिको हो ।

सुन्दरहरैँचा– ९ की ढकाललाई ट्रिफरले किचेर मारेपछि स्थानीय एकाएक आक्रोशित बनेका हुन् । उनीहरूको एउटै निशाना थियो, ट्रिफर । छानीछानी ट्रिफरमा आगो लगाउन थालेपछि लोड लिएर विराटनगर हिँडेका चालकहरू ज्यान जोगाउन दौडिए । करीब १५ मिनेटको समयमा पनि प्रहरी आइपुग्यो ।

प्रहरी एक्लै गएन । उसले नजिकै रहेको सुन्दरहरैंचा नगरपाकिलाबाट दमकल पनि लिएर पुग्यो । तर, स्थानीयले प्रहरी र दमकललाई डेग चल्न दिएनन् । त्यतिबेला सम्ममा ५ वटा ट्रिफर खरानी भइसकेका थिए । अन्य रोकिराखेका २ वटा ट्रिफरमाथि पनि पेट्रोल खन्याइयो । भीड एकै छिनमा दोब्बर भयो । त्यतिबेला सम्ममा इटहरी उपमहानगरबाट अर्को दमकल आइसकेको थियो ।

इटहरी उपमहानगरपालिकाको दमकललाई भीडले घेर्यो । ‘यहाँबाट अघि बढ्ने हो भने ट्रिफरको हालत बनाइदिन्छौँ भनेपछि हामी फर्किएका हौं’ चालकले भने ।

लक्ष्मीको शव सडकमै थियो । स्थानीयले दोषीलाई कारवाही नभएसम्म शव नउठाउने अड्डी लिइरहेका थिए । विराटचोकदेखि विराटनगर जाने बाटो अवरुद्ध भएको थियो । विराटनगर र इटहरीबाट ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरीको फोर्स आए पनि केही गर्न सकेन ।

दिउँसो करिब साढे १२ बजे एक जना प्रहरी अधिकारीले माइकिङ गर्दैै भने, ‘११ बजेदेखि अनिश्चितकालीन समय सम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । कृपया आ–आफ्नो घरमा बसिदिनु होला ।’

त्यति मात्र के माइकिङ भएको थियो । सयौँको सङ्ख्यामा रहेका स्थानीयले प्रहरी विरुद्ध नै चर्का नाराबाजी लगाए । उनीहरूको एउटै आवाज थियो, गुडाउन नदिने भन्दाभन्दै ट्रिफर किन गुडाइयो ? यसलाई किन प्रशासनले रोक लगाएन ? हाम्रा कुरा किन सुनिएन ?

यो मात्र पहिलो घटना थिएन । यो भन्दा अघि यसै ठाउँका अन्य व्यक्तिले पनि ट्रिफरकै कारण ज्यान गुमाउनु परेको थियो । त्यसो त ट्राफिक प्रहरीले पुस १ गतेदेखि बिहान र बेलुका निश्चित समयमा ट्रिफर गुडाउन प्रतिबन्ध लगाए पनि कार्यान्वयन भएको थिएन । प्रहरीमाथि आक्रोशित भीड खनिँदा प्रहरी पनि निरीह बन्यो ।

उता, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जिल्ला सुरक्षा समितिको बैठक राखेर घटनाको बारेमा बुझ्न सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेका छन् । उनले आवश्यक सुरक्षाको बन्दोबस्त गर्न सुझाव दिइसकेका छन् ।

तर, अहिलेसम्म सडकमै मृतकको शव छ भने अवस्था उस्तै छ । अब के हुने हो यसको उत्तर कोहीसँग छैन ।

biratchock pradeshportal.com 2