विराटचोकः विराटचोकदेखि विराटनगर जाने छोटो दूरीको सडकमा ट्रिफर प्रतिबन्ध गर्ने सहमति भएको छ । बिहान अन्दाजी पौने ९ बजे स्थानीय लक्ष्मी ढकाललाई ठक्कर दिएर ज्यान लिएपछि ७ वटा ट्रिफरमा आगो लगाइएको मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले जानकारी दिए ।
कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंका अनुसार नागरिक समाज, पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र प्रशासनको संयुक्त बैठकले ट्रिफर चलाउन नदिने सहमति गरेको छ । यससँगै बालिकाको शवलाई सामुहिक श्रद्धाञ्जली दिने, चालकलाई हदैसम्मको कारवाही गर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिने लगायतको सहमति भएको चापागार्इंले जानकारी दिए ।
सडकमै शव राखेर प्रदर्शन गरेका स्थानीयले चालकलाई कडाभन्दा कडा कारवाहीको माग राखेका थिए भने उक्त सडकमा ट्रिफर गुडाउन प्रतिबन्ध गर्न माग गरेका थिए ।
बेलुका सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा सर्वपक्षीय बैठक बसी दुर्घटना भएको सडकमा ट्रिफर चलाउन प्रतिबन्ध लगाइएको जानकारी दिइएको हो । सहमतिसँगै घटनास्थल सुन्दरहरैँचा–९ को सिसौचोक शान्त बन्दैछ ।