इटहरी/ यही शुक्रबार गृह मन्त्रालयले देशभरका ४ सय गुण्डाको लिस्ट तयार पारेकै रात तरुण दल सुनसरी सभापति सिजन गुरुङ पक्राउ परे । गृहमन्त्री रामबहादुर थापा बादलले देशभरका गुन्डागर्दीमा संलग्नहरूको विभिन्न श्रेणीसहितको सूची मन्त्रालय मातहतका जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग माग गरेकै दिन गुरुङ पक्राउ परेका हुन् ।

शुक्रबार राती १० बजे धरानबाट आउँदै गर्दा पक्राउ परेका गुरुङमाथि कुटपिट र गुण्डागर्दीको आरोप रहेको इटहरीमा हालसालै आएका डिएसपी शिवकुमार श्रेष्ठले बताए । तरहराकी एक महिलालाई गुरुङ नेतृत्वको समूहले कुटपिट गरेको निवेदन र अन्य दर्जनौँ मौखिक उजुरीका कारणले गुरुङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

महिला कुटपिट र अन्य दर्जनौँ उजुरीबाट गुरुङ पक्राउ ः प्रहरी
इटहरी–२० तरहराकी महिला तीर्थकुमारी गिरीको १० धुर जग्गामा २०६८ सालदेखि भाडा उठाएर खाएको उजुरी इटहरी उपमहानगरपालिका र इलाका प्रहरीमा परेको थियो । सोही जग्गाकै विषयमा अमिनले नाप गर्दा गुरुङ समूहले गिरीलाई कुटपिट गरेको थियो । कुटपिटले गिरीको अनुहारमा निलडाम समेत भेटिएकाले गुरुङ पक्राउ पर्नु जग्गा विवाद मात्रै नभएको इटहरीका डिएसपी श्रेष्ठले बताए । महिला कुटपिट मात्रै होइन धरान र इटहरी आसपासका दर्जनौँ व्यवसायी, व्यापारीहरूले पनि सिजन गुरुङको विरुद्धमा उजुरी गरेकाले पक्राउ गरिएको इटहरी प्रहरीको भनाइ छ ।

गुरुङलाई ७ दिन म्याद थपेर अनुसन्धान गरिँदै
शुक्रबार पक्राउ परेका गुरुङलाई निशर्त रिहाइको माग गर्दै इटहरी कांग्रेसले प्रदर्शन गरेकै दिन घटनाको अनुसन्धानको लागि ७ दिन म्याद थपिएको छ । हिरासतमै राखेर गुरुङको थप अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

कांग्रेसले जग्गा विवादमा पक्राउ गरिएको भने पनि प्रहरीले भने जग्गा नभएर गुण्डागर्दीको कारणले पक्राउ गरेको बताउँदै आएको छ ।

गुरुङ केही महिना अगाडि किशोरी बलात्कारको घटना मिलापत्र गर्न सक्रिय भएकोमा ५ हजार धरौटीमा सुनसरी जिल्ला प्रशासन कार्यालयबाट तारेखमा छुटेका थिए । केही वर्ष अगाडि गुरुङ अर्को एक मुद्दामा धनकुटाको भेडेटारबाट पनि पक्राउ परेका थिए ।

गुरुङलाई इन्काउन्टर गर्न खोजियो ः कांग्रेस नेता श्रेष्ठ
शुक्रबार पक्राउ परेका सिजन गुरुङको निशर्त रिहाइको माग गर्दै सडकमा ओर्लिएका कांग्रेस नेता कार्यकर्ताले गुरुङलाई इन्काउन्टर गर्न खोजिएको आरोप लगाएका छन् । आइतबार इटहरी चोकमा सडक अवरुद्ध गरेर गरिएको विरोध सभामा बोल्दै सुनसरी क्षेत्र नम्बर २ का सभापति तथा इटहरी वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठले सिजन गुरुङलाई इन्काउन्टर गर्न खोजेको आरोप लगाए । प्रहरीले गुरुङलाई राती पक्राउ गरेर इन्काउन्टर गर्न खोजेको श्रेष्ठको तर्क थियो ।

सडकमा विरोध, सामाजिक सञ्जालमा समर्थन

Congress-Birodh-Sunsari_tXe1tRIrct
कांग्रेस नेता सिजन गुरुङको पक्राउको विषयमा सडकमा विरोध भए पनि सामाजिक सञ्जालमा भने चर्को आलोचना भएको छ । नेपाली कांग्रेस इटहरी, नेपाली कांग्रेस सुनसरी, तरुण दल केन्द्रीय कमिटी र नेपाल विद्यार्थी संघ सुनसरीले आ–आफ्ना विज्ञप्ति मार्फत् गुरुङ पक्राउको विरोध गरेका छन् ।

निजी कारणले पक्राउ परेका गुरुङलाई सांगठनिक कारणले पक्राउ गरेको भन्दै केही कांग्रेस नेताहरूले आलोचना गरेका छन् । गुरुङको बढ्दो लोकप्रियता देख्न नसकेका वामपन्थीहरूले नियोजित रूपमा पक्राउ गराएको पनि कांग्रेस नेताहरूको आरोप छ ।

तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा भने अधिकांशले गुरुङ पक्राउको बचाउ गर्दै पोस्टहरू गरेका छन् । चिरन न्यौपानेले कांग्रेस समर्थक सुमन दाहालको पोस्टमा गुरुङ मोस्ट वान्टेड भएको लेखेका छन् । यस्तै, मातृका दाहालले फेसबुकमा प्रहरीको समर्थनमा लेखेका छन्, ‘सुकुम्बासीको जग्गा आफ्नो नाममा किनेर सोझा जनतालाई तर्काउन खोज्दा पक्राउ भएको हो ।’ यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ता कमला देवान लेख्छिन्, ‘गुरुङले महिलालाई निलडाम हुनेगरी कुटेको केसमा महिला हिंसाको उजुरी पनि दिनुपर्छ ।’

‘गुण्डा छुटाउन तीन सांसद सडकमा’
आइतबार सिजन गुरुङको रिहाइको माग गर्दै तीन जना प्रदेश १ का सांसदहरू सडकमा आएका थिए । कुटपिट र गुण्डागर्दीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका गुरुङको पक्षमा प्रदेश सांसदहरू आएपछि व्यापक आलोचना भएको छ । कांग्रेस प्रदेश १ का सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रदेश १ का कांग्रेसकै प्रमुख सचेतक केदार कार्की र प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ आन्दोलनमा आएका थिए ।

कुटपिट र गुण्डागर्दीको आरोपमा पक्राउ परेका गुरुङ छुटाउन सडकमा आएका गुरुङको मुद्दालाइ राजनीतिक रङ दिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । वरिष्ठ पत्रकार तथा नेपाली कांग्रेसका मतदाता समेत रहेका पत्रकार केदार शर्माले आन्दोलनमा प्रदेश सांसदहरू सरिक भएको समाचारको लिंक सेयर गर्दै लेखेका छन्, ‘ थुक्क कांग्रेस ।’ यस्तै आफूलाई कांग्र्रेसकै समर्थक बताउने इटहरीका एक वडा सदस्यले भने, ‘अन्य निमुखा र निर्दोष कांग्रेस पर्दा मौन सांसदहरू गुरुङको पक्षमा भने सडकमै उत्रिएर चर्को भाषण गरे ।’

गुरुङ पक्राउको विरोधमा कांग्रसले सुनसरी बन्द गर्ने
आइतबार सडकमै आएर सिजन गुरुङ रिहाइको माग गरेको नेपाली कांग्रेस सुनसरीले थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । जस अन्तर्गत जेठ १४ गते दिउँसो ४ बजे धरान, इटहरी र इनरुवामा कोणसभा गर्ने भएको छ । जेठ १५ गते सोही समयमा इटहरी र इनरुवामा सिटी जुलुस गर्ने र जेठ १६ गते इटहरी र इनरुवामा विरोध जुलुस गर्ने भएको छ । जेठ १७ गते भने सुनसरी बन्द गर्ने पनि कांग्रेस सुनसरीले आइतबारै बैठक बसेर घोषणा गरेको छ ।