इटहरीः भारतीय नागरिक सन्तोषकुमार साहले गुरुदयाल साहको नाममा नेपाली नागरिकता लिएको प्रकरणमा जिल्ला अदालत सुनसरीले साहलाई थप अनुसन्धानको लागि थुनछेक आदेश गरेको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शङ्करप्रसाद राईको एकल इजलासले थुनछेक आदेश गरी थप अनुसन्धानको लागि जेल पठाउने निर्णय गरेको हो ।

नागरिकता प्रकरणमा मुछिएका हरिनगरा–३ का वडाध्यक्ष अरबिन्द मेहतासहितका १० जना व्यक्ति फरार रहेका छन् । फरार हुनेमा गुरुदयालको नक्कली बाबु बन्ने उदयचन्द साह, सर्जिमिनको समयमा साक्षी बस्ने व्यक्तिलगायत नागरिकता प्रक्रियामा जोडिएका अन्य व्यक्ति रहेका छन् ।

‘हामी भरपुर कोशिसमा छाँै,’ मुख्य अभियुक्त नियन्त्रणमा आइसकेकाले अन्य प्रतिवादी पनि चाँडै पत्ता लाग्नेछन्,’ सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले भने, ‘आज थुनछेक आदेश भएको छ अब अझै जड विषयसम्म अनुसन्धान शुरु गर्नेछौँ ।’

भारतीय सन्तोषकुमार साहले सुनसरीको हरिनगरा इलाका प्रशासन कार्यालयबाट २०७५ जेठ २३ मा गुरुदयाल साहको नाममा वंशजको आधारमा नागरिकता लिएको घटना प्रदेश पार्टल लगायतका सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको थियो । इलाका प्रशासन कार्यालयबाट लिएको नागरिकता कीर्ते भएको भनी निवेदन पर्दा समेत जिल्ला प्रशासन कार्यालयले ३ महिना भन्दा लामो समय मुद्दा अड्काएर बसेको थियो । तर, समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई ‘केस’ सुम्पिएको थियो ।

पहिले नै नेपाली नागरिकता पाइसकेका भारतीय नागरिकलाई बाबु बनाएर सन्तोष अर्थात् गुरुदयाल साहले वंशजको आधारमा नेपाली नागरिकता पाएका हुन् । भारतको विहार राज्यको अररिया जिल्ला पतंगंज बस्ने सन्तोषकुमार साहको हरिनगराबाट लिएको नागरिकतामा नाम गुरुदयाल साह छ । भारतीय मतदातापत्र भए पनि वंशजका आधारमा नागरिकता पाएका भारतीय नागरिकलाई नक्कली बाबु बनाएर सन्तोषले नेपाली वंशजको नागरिकता पाएका थिए ।

वडाध्यक्षको सिफारिश र प्रहरीको सर्जिमिनमा दिइएको थियो नागरिकता
प्रहरीले स्थानीयसँग बुझेर गरेको सर्जिमिन र वडाध्यक्षले नै दिएको प्रमाणित सिफारिशमा गुरुदयालले नागरिकता पाएका थिए । बसाइँसराइँको प्रमाणबिना नै वडाध्यक्षले आफ्नो ठाउँको मान्छे हो भन्दै वंशजको आधारमा नागरिकता दिन इलाका प्रशासन कार्यालय हरिनगरालाई सिफारिश दिएको पाइन्छ ।

वडा कार्यालय मात्र होइन इलाका प्रशासन कार्यालय हरिनगराले पनि नागरिकताको सिफारिश आएपछि सर्जिमिन गर्न मातहतको इलाका प्रहरी कार्यालय हरिनगरालाई पत्र पठायो । हरिनगराले मातहतको गौतमपुर अस्थायी प्रहरी कार्यालयलाई सर्जिमिन गर्न पठाएअनुसार गौतमपुर अस्थायी प्रहरीले पनि नेपाली नागरिक नै भएको सर्जिमिन मुचुल्का गरी हरिनगरा इलाका प्रशासन कार्यालयलाई बुझाएको देखिन्छ ।

प्रमाणित भए ५ वर्षसम्म जेल र १ लाख रुपैयाँ जरिवाना

नागरिकता ऐन २०६३ मा गैर नेपाली नागरिकले नागरिकता लिएको प्रमाणित भएमा ५ वर्षसम्म जेल र १ लाख जरिवाना हुने व्यवस्था छ । झुटो विवरण पेश गरी कुनै विदेशी नागरिकले नेपाली नागरिकता लिएमा नागरिकता खारेज गरी ५ वर्षसम्म जेल र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

ऐनको दफा २१ को दण्ड सजायको महलमा उल्लेख भएअनुसार नागरिकता लिने, सनाखत गर्ने, साक्षी बस्ने, झुटा विवरण बनाउन सहयोग गर्नेदेखि नागरिकता बनाउँदा संलग्न कर्मचारीहरू सबैलाई कारवाही हुने व्यवस्था रहेको छ ।

दफा २२१ को उपदफा (२) अनुसार नागरिकता प्राप्त गराउन सिफारिश गर्ने व्यक्ति अर्थात् जनप्रतिनिधिलाई समेत कारवाही हुन सक्छ । नागरिकता दिने कर्मचारीको हकमा भने विभागीय कारवाही हुनेदेखि कैद भुक्तान गर्नेसम्मको व्यवस्था छ ।