धनकुटाः ३ महिना अघि धनकुटाको हिलेमा सञ्चालन भएको मिनी मेलामा हत्या गरिएका रामबाबु चौधरीको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत कात्तिक महिनामा सुनसरीको इटहरी– १५ का ३८ वर्षीय रामबाबु चौधरीको मेला परिसरमै हत्या भएको थियो । लामो समयको अनुसन्धान पछि धनकुटा प्रहरीले मृतककी श्रीमती र उनका प्रेमीलाई हत्याको अभियोगमा पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
प्रहरीले साँगुरीगढी गाउँपालिका वडा नं. ९ घर भई हाल वराहक्षेत्र–५ कालाबन्जार बस्ने ३१ वर्षीय सविन राई र मृतककी श्रीमती इटहरी–१५ की २९ वर्षीया प्रिया चौधरीलाई पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।
पक्राउ परेका दुवैबीच प्रेम सम्बन्ध भएपछि गत ५ महिनादेखि योजना बनाएर चौधरीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
चौधरीको हत्यापछि विवाह गर्ने सल्लाहमा प्रियाले आफ्ना श्रीमान्को हत्या गर्न राईलाई उक्साएको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ । चौधरीका २ जना र राईका १ जना सन्तान रहेका छन् ।