इटहरीः गत शनिबारदेखि यो शनिबारसम्म प्रदेश १ मा धेरै व्यक्तिहरूले समाचारका शीर्षक बनाए । यसरी शीर्षक बनाउनेहरूमा समाजका विभिन्न क्षेत्रका दर्जनौँ व्यक्तिहरू छन् । तर, ती व्यक्तिहरूमध्ये यो साता सबैभन्दा धेरै समाचारमा आएका शीर्ष ७ व्यक्तिहरू यी हुन्ः
१. लक्ष्मी ढकाल
गत सोमबार उत्तरी मोरङको विराटचोक बजारबाट २ किलोमिटर दक्षिण विराटचोक– विराटनगर सडकमा टिपरले बालिका लक्ष्मी ढकाललाई किच्यो ।
बिहान साढे ८ बजे ११ वर्षीया बालिका ढकाललाई पसलमा सामान किन्न जाँदै गर्दा टिपरले किचेको थियो । दुर्घटनाको प्रकृति हेर्दा टाउको मात्रै किचेको छ । बाँकीशरीरमा कुनै चोट छैन । प्रत्यक्षदर्शी तारा निरौलाका अनुसार टिपरको हावाले बालिका लडेकी थिइन् । ती बालिका ढकाललाईना ३ ख ३३५५ नम्बरको टिपरले ब्याक गरेर किचेर मारेको थियो । बालिकालाई जानाजान मारेपछि स्थानीयहरू आक्रोशित भए । किच्ने टिपरसहित अन्य ६ टिपर स्थानीयले जलाए ।
२. प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश १ मा आए यो हप्ता र हेडलाइन बने । भद्रपुर विमानस्थलको रात्री उडानदेखि सात दशकसम्म बन्न नसकेको मेची पुलको पनि उनले उद्घाटन गरे । प्रधानमन्त्री ओली बिहीबार प्रदेश १ मा आएका थिए । मेची पुल उद्घाटन गर्दै ओलीले नेपालमा पूर्वपश्चिम रेल कुदाएरै छाड्ने बताएका थिए ।
३. डाक्टर बाबुराम भट्टराई
यो साता नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई प्रदेश १ मा हेडलाइन बने । भट्टराई हाल प्रदेश १ का पहाडी जिल्लामा भ्रमणमा छन् । पुष्पलाल मध्य पहाडी राजमार्ग हुँदै देश दौडाहामा हिँडेका नेता भट्टराई शुक्रबार धनकुटामा आए । धनकुटामा आएका पूर्व प्रधानमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य भट्टराईले लोकतन्त्र स्थानीय तहसम्म आउन नपाएको बताए । डाक्टर केसीका बारेमा पनि बोलेका भट्टराईले केसीले सबै माग पूरा गराउँछु भन्ने हठ भएको र सरकारले केसीलाई पेल्छु भन्ने हठ त्याग्नुपर्ने तर्क गरेका थिए ।
४. नरेश पोखरेल
उत्तरी मोरङका खोलाहरूमा भइरहेको चुरे दोहनको पक्षमा काम गरेको भनेर आलोचित जिल्ला समन्वय समिति (जिसस) मोरङका संयोजक नरेश पोखरेल यो साता पुनः आलोचित बने ।
प्रदेश १ को स्थायी राजधानी विराटनगरबाहिर लगिए प्रदेश सभालाई भवन नदिने धम्की दिए पोखरेलले । मुख्यमन्त्री शेरधन राई, प्रदेश गृहमन्त्री हिक्मत कार्कीलगायतका विशिष्ट व्यक्तिहरू उपस्थित विराटनगर बस टर्मिनलको उद्घाटन कार्यक्रमममा बोल्दै पोखरेलले बुधबार यस्तो बताएका थिए । पोखरेलको यो वक्तव्यले प्रदेशमा धेरै समाचार यो साता बने ।
५. नरेन्द्र विश्वकर्मा
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का पुत्र नरेन्द्र विश्वकर्मा पनि यो साता धेरै समाचारहरूमा छाए । बिहीबार साँझ ६ बजे विराटनगर विमानस्थलबाट पक्राउ परेपछि विश्वकर्मा समाचारमा आएका हुन् ।
प्रहरीले ३ वटा नाइन एमएमको पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ गरेको दाबी गरेको छ । तर, आलोचकहरूले भने कोही पनि व्यक्ति ३ वटा गोली बोकेर विमानस्थल नजाने भन्दै सरकारले षड्यन्त्र गरेर प्रकाण्डपुत्रलाई पक्राउ गरेको बताउँदै आएका छन् ।
६. पवनकुमार सारडा
बैंकहरूको ब्याजदर चर्को भएको भन्दै विराटनगरका व्यवसायीहरूले यो साता आइतबारदेखि आन्दोलन चर्काए । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसहित राष्ट्रिय बैंकको क्षेत्रीय कार्यालय विराटनगर घेराउ गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका व्यवसायीहरूले शनिबारबाट भने आफ्ना कार्यक्रम स्थगित गरेको बताए ।
प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले समस्या समाधानको लागि सङ्घीय सरकार र केन्द्रीय बैंकहरूले संवाद र समन्वय गर्ने भनेपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले बताए । व्यापारीहरूको आन्दोलनकै कारण सारडा यो साता धेरै समाचारहरूमा छाए ।
७. भरत खवास
इटहरीमा शनिबार सम्पन्न १६ लाख रुपैयाँ राशीको प्रथम पुरस्कार भएको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको विजेता बन्यो त्रिभुवन आर्मी क्लब ।
मोरङको सुन्दरहरैंचामा जन्मिहुर्केका भरत खवास आर्मीका क्याप्टेन मात्रै होइन फाइनल खेलको २–० को जीतका प्लेमेकर पनि बने । यो जीत मनाङविरुद्ध आर्मीको यस सिजनको पहिलो जीत पनि हो । आजको फाइनलमा भरत खवासले बेस्ट फरवार्डसँगै बेस्ट स्कोरर समेत बने । फाइनलमा समेत खवासले १ गोल गरे । यससँगै भरत खवास अहिले प्रदेश १ मा धेरै समाचारमा समेटिएका खेलाडीमा छन् ।