विराटनगरः नागरिक उड्ययन प्राधिकरण विराटनगर कार्यालयका चौकीदार भोला यादवलाई आफ्नै कार्यालयबाट इन्धन चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
कार्यालय प्रयोजनका लागि ड्रममा राखिएको डिजेल बारम्बार चोरी गरेर बिक्री गर्ने गरेको आरोपमा चौकीदार यादवसहित ४ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्राधिकरणले कार्यालय परिसरबाट इन्धन हराएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई गत पुस २३ गते पत्राचार गरेको थियो । मोरङ प्रहरीले लामो समयसम्म गरेको अनुसन्धानपछि विराटनगर–४ निवासी चौकीदार यादवसहित उनका छोरा मुकेश र अमित यादव तथा अर्का स्थानीय रामचन्द्र यादवलाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख मनोज केसीले बताए ।