विराटनगरः १० वर्षीया बालिका रुमती दासको बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
घटना भएको ७ दिनपछि विराटनगर–८ का चन्दु महतो र भुट्टु भन्ने अब्बास अन्सारीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
लागूऔषध सेवनकर्ता महतो र अन्सारीले गत माघ १३ गते बेलुका ८ बजेतिरको समयमा बालिका दासलाई नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेर खोलामा फ्याँकेको प्रहरीसँगको बयानमा स्वीकार गरेको मोरङ प्रहरीका उपरीक्षक मनोज केसीले बताए ।
घटनाको अनुसन्धानमा प्रदेश १ प्रहरी कार्यालयले विशेष अनुसन्धान ब्युरोलाई परिचालन गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले समेत छुट्टै टोली परिचालन गरेको थियो । पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको र बलात्कार भएको खुलेको छ ।
अनुसन्धानका क्रममा शंकास्पद २४ जनालाई नियन्त्रणमा लिइएको उपरीक्षक केसीले जनाए । पछिल्लो समय लागूऔषध दुर्यव्यसनीको अखडा बनेको बलुवाही टोलमा छिमेकीको घरमा टिभी हेर्न निस्केकी बालिकालाई २ जनाले नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।