पाँचथरः प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि सशस्त्र प्रहरी राखिने भएको छ ।
१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा यस्तो बताएका हुन् ।
उनले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न १७ करोड ५० लाख बजेट छुट्याइसकेको जानकारी दिए ।
हालै बसेको प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी पोष्ट राख्न सम्बन्धित निकायलाई अख्तियारी समेत दिएको र यसबाट सीमा क्षेत्रका नागरिकको सुरक्षाका साथै वन्यजन्तु तथा जडिबुटी चोरी निकासी रोक्न सहयोग पुग्ने मन्त्री आङ्बोले बताए ।
सीमा क्षेत्रमा समस्या भए त्यसलाई राजनीतिक विषय बनाउन नहुने तर समस्या देखिए दुवै देशका प्रतिनिधि बसेर समस्या समाधान गरिने उनको भनाइ थियो ।