धरानः लागूऔषध खैरो हेरोइनसहित धरान प्रहरीले मङ्गलबार ३ जना युवालाई पक्राउ गरेको छ । उनीहरू लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

मङ्गलबार बिहान २ बजेतिर प्रहरी चौकी पानबारीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धरान–६ बोर्डिङ चोक सडक खण्डमा पूर्वबाट आइरहेको को २५ प ९५०९ नम्बरको स्कुटर र को १ प ९९३६ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए । धरान–६ का ३० वर्षीय निराजन थापा, २९ वर्षीय सुमन परियार र धरान–१५ का २४ वर्षीय सन्जोग थापा पक्राउ परेका हुन् ।

hotel gajur palace

सवारी जाँचको क्रममा स्कुटर चालक निराजन थापाको साथबाट खैरो हेरोइन ८ सय २० मिलिग्राम फेला परेको प्रहरीको भनाइ छ । सो घटनामा तीनै जनाको संलग्नता देखिएकाले उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । धरानको प्रवेशद्वार तीनकुने नाकामा जाँच हुन्छ भन्ने थाहा पाएर उनीहरू भित्री सडकबाट हिँड्ने गरेको थाहा पाएपछि प्रहरीले चेकिङ गरेको थियो ।

यस्तै, सोमबार साँझ धरान–१८ स्थित शिव मार्गबाट लागूऔषधसहित युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका धरान–१८ बस्ने २२ वर्षीय सुनिल शाहीको शरीर तथा झोला जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनको झोलामा लागूऔषध डाईजेलाब २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल र एभिल २८ एम्पुल फेला परेको र उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐनबमोजिम मुद्दा चल्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताए ।