सङ्खुवासभाः नयाँ मुलुकी संहिता लागू भएपछि सङ्खुवासभामा २४ जना पुरुषहरूले सम्बन्ध विच्छेदका लागि भन्दै मुद्दा दर्ता गरेका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउने भएपछि पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका हुन् ।
जिल्ला अदालतले मङ्गलबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेर दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ को माघ १७ गते सम्ममा अदालतमा २४ जना पुरुष र ३६ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतका अनुसार अंशसहित सम्बन्ध विच्छेदका लागि २३ मुद्दा दर्ता भएका छन् ।
मुलुकी अपराधसंहिता लागू भएपछि भने भदौपछि मात्रै पुरुषले सम्बन्ध विच्छेदका लागि भन्दै मुद्दा दर्ता गराएका हुन् । अदालतका अनुसार गत साउनदेखि हालसम्म सम्बन्ध विच्छेदका लागि पुरुषले दर्ता गराएका मुद्दामध्ये एउटाको फैसला भएको छ । त्यस्तै, कुल ६० वटा सम्बन्ध विच्छेदका लागि दर्ता भएका मुद्दामध्ये २७ वटाको फैसला भएको छ । अंशसहित सम्बन्ध विच्छेदका लागि परेका मुद्दामध्ये १६ वटाको फैसला भएको छ भने ७ वटा बाँकी रहेका छन् ।
मुलुकी अपराध एवं देवानी संहिता लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्ने क्रम बढेको अदालतका स्रेष्तेदार राजन बास्तोलाले बताए । नयाँ मुलुकी देवानी संहिताले पत्नीले पतिको मन्जुरी नलिई लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने प्रावधान छ । पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिन पाउने प्रावाधान मुलुकी संहितामा उल्लेख गरेको छ ।
जिल्ला अदालतले दिएको जानकरीअनुसार साउन देखि माघको १७ गतेसम्ममा बालबालिका सम्मिलित २५ मुद्दामध्ये १५ वटाको फछ्र्योट भएको छ भने १० वटाको बाँकी रहेको छ । ज्येष्ठ नागरिक सम्मिलित ४१ मुद्दामध्ये २५ वटा फछ्र्याेट हुन बाँकी छन् । महिला सम्मिलित १ सय ६० मुद्दामध्ये ८० वटाको फछ्र्योट भएको छ भने ८० वटाको बाँकी रहेको छ ।
त्यस्तै, बलात्कारका ११ मुद्दामध्ये ६ वटाको फछ्र्याेट भएको छ । बलात्कार प्रयासका ११ मुद्दामध्ये ८ वटाको फछ्र्योट भएको छ ।