भोजपुरः प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगका आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो ।

गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको ३ ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा जिल्ला अदालत भोजपुरमा मुद्दा दायर भएको थियो ।

टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी ज्यान मार्ने उद्योगका २ वटा मुद्दा दायर भएका थिए । त्यस्तै, षडानन्द नगरपालिका–१३ भीरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा पनि दायर भएको थियो ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवाना लिएको स्रेस्तेदार राजकुमार दाहालले बताए ।

त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किरातीको ठेगान स्पष्ट नखुलेकाले तामेलीमा राखिएको जनाइएको छ ।

केही महिनाअघि मात्र सोही मुद्दामा नेकपा प्रवक्ता प्रकाण्डसहितका नेताहरूलाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रकाण्ड ६० हजार नगद धरौटी राखेर छुटेका थिए ।