इटहरीः इटहरीका गीतकार तथा चर्चित टेलरिङ व्यवसायी भाइसन बर्देवाले १० लाख रुपैयाँ माग्दा नदिएपछि आमा उचालेर दुःख दिएको बहिनीज्वाइँले गुनासो गरेका छन् । केही वर्ष अगाडि २५ लाख रकम बैंकबाट लिने योजनाको लागि १० लाख रुपैयाँ मागेको र नदिएपछि आमा उचालेर दुःख दिएको उनीहरूको गुनासो छ ।

छोरीले ‘आफ्नो कमाइको घरजग्गा खाएको’ भन्दै भाइसन बर्देवासँगै बस्दै आएकी आमा सबितालाई उकासेर घरमा तोडफोड गर्न लगाएको, इमोसनल ब्ल्याकमेलिङ गर्दै घरजग्गा कब्जा गरेको भनी मिडियालाई भन्न लगाएको पीडितको आरोप छ । आइतबार बर्देवाकी आमाले इटहरीका सञ्चारकर्मीसँग छोरीले कुटेर, खान नदिएर घर निकाला गरेको भन्दै बताएकी थिइन् ।

७० वर्षीया आमा सबिता बर्देवाले लगाएका आरोप सबै गलत भएको र भाइसन बर्देवाले दुःख दिने गरेको बहिनी योरुपा बर्देवा बताउँछिन् ।

यी हुन् आमा सबिताले छोरीलाई लगाएका आरोपहरू: आमा सबिताले हाल २ करोड रुपैयाँ मूल्य पर्ने इटहरी ७ को १ कट्ठा ५ धुर जग्गा छोरीले हडपेको बताएकी छिन् । आफूले दुःख गरेर कमाएको जग्गालाई छोरी योरुपाले जालझेल गरेर कब्जा गरेको आमा सबिताको आरोप छ । घरमा बस्दा खान नदिएको, कुटपिट गरेको र सडकमा लुगा फालेको आरोप आमाको छ । ३ लाखमा खरिद गरिएको कित्ता नम्बर ३११२/३१९८ नम्बरको आफ्नो जग्गा किन्दा र घर बनाउँदा नागरिकता हराएकाले छोरीको नाममा जग्गा किनेर घर बनाएको आमाको भनाइ छ ।

यस्तो छ आमाको आरोपमा छोरी योरुपाको स्पष्टोक्ति

आमाले भनेअनुसार हाल घरजग्गाको मूल्य २ करोड नभएर ५० लाख हाराहारी मात्रै भएको योरुपाको भनाइ छ ।

प्रदेश पोर्टलसँग कुराकानी गर्दै योरुपाले हाइटेन्सन माथि बनाएको ४ कोठे घरमा कसैले २ करोड नहाल्ने बताइन् । सडकमा कपडा फालेको, खान नदिएको र कुटपिट गरेको कुरा सबै मिडियामा भनिएका हावादारी कुरा भएको उनी बताउँछिन् । आमालाई दुःख दिएको नभएर आमाले चाहिँ घरमा आएर सिसा तोडफोड गरेको र धम्की दिएको योरुपाको भनाइ छ ।

प्रदेश पोर्टललाई आमाले घरका सिसा फुटाएको भिडियो दिँदै योरुपाले भनिन्, ‘आमा अहिले भाइसन दाजुको ७ तले घरमा बस्नुहुन्छ । तर, हामीले खान नदिएको, घरबाट निकालेको र आफ्नो सम्पत्ति हडपेको जस्तो हावादारी कुरा गर्दै दुःख दिनुहुन्छ ।’ आमाले घर र जग्गाको कसरी दाबा गर्नुभयो भन्ने प्रश्नमा दाइलाई आफूले घरजग्गा धितो राखेर १० लाख लोन नमिलाउँदा कुरा बङ्ग्याइएको उनको तर्क छ । ‘यो घर बनाउने पैसा खर्च गर्ने र घरजग्गाको धनी मै हुँ ।

तर आमाले मैले जालझेल गरेर लगेको भन्नुहुन्छ’, योरुपा भन्छिन्, ‘आफ्नो नागरिकता हराएकाले छोरीको नाममा जग्गा किनेर घर बनाएको भन्नुहुन्छ त्यो हावा कुरा हो । नागरिकता हराउँदैमा कसैले छोरीको नाममा घर बनाउँदैन ।’ आमाले जग्गा खोज्न र घर बनाउन भने सहयोग गरेको छोरी योरुपाको भनाइ छ ।

उनी भन्छिन्, ‘म आफ्नो श्रीमान् विदेशमा भएकाले आफैँले सबै जान्दिन थिएँ र आमासँग रड, गिटी, बालुवा र घर बनाउने काममा खटेको चाहिँ हो ।’ आमाले घर बनाउन खटेको र आफू भारतमा काम गर्न गएको बेला घरमा बसेको योरुपा बताउँछिन् । घरमा बस्नु अगाडि दाइले आमालाई गालामा कुटेपछि आफ्नो घरमा बस्न थालेको योरुपाको भनाइ छ । उनी भन्छिन्, ‘पछि भाइसन दाइले आमालाई आफ्नो घरबाट खानाहरू लान थाल्नुभयो र मेरो श्रीमान्को आमा पनि घरमा आएर बस्न थालेपछि आमा भाइसन दाजुकोमा जानुभयो ।’

mid  page add.PNG 1

आमा आफैँ निक्लेर गए पनि पछि लोन दिन नमानेपछि आफ्नो घर कब्जा गरेको भन्दै नक्कली आँशु झारेर दाइकै उक्साहटमा लाग्नुभएको योरुपाको भनाइ छ ।

पहिले दिएको १० लाख फिर्ता नभएपछि फेरि रकम दिएनौँ र समस्या शुरु भयोः ज्वाइँ

आफूले हिमालयन बैंकबाट दाजु भाइसन बर्देवालाई १० लाख दिएको स्टेटमेन्ट देखाउँदै ज्वाइँ प्रकाशकुमार रतनले पहिलेको रकम नआएकाले नयाँ रकम दिन असहज भएको बताए । रतनले भने, ‘७–८ वर्ष अगाडि दिएको रकम पूरा फिर्ता भएन’, ‘म धनी पनि होइन खाडीमा काम गर्न नसकेर आएको थिएँ र आफ्नो घरजग्गा धितो राखेर थप १० लाख दिन गाह्रो भयो ।’

आफूले पैसा दिन आनाकानी गरेपछि बर्देवाले आमालाई भन्न लगाएको अनि नमानेपछि घरजग्गा नै आफ्नो भएको भन्दै मिडियाबाजी गर्ने गरेको रतनले बताए । उनले भने, ‘घरमा आएर तोडफोड गराउन आमालाई उकास्ने दाजु नै हो । एक्लो छोरा उहाँलाई यस बारेमा भन्दा ‘आफैँ मिल’ भन्दै पन्छिनुहुन्छ ।’

छोरीलाई धम्की, घर तोडफोडको शृङ्खला र प्रशासनको असहयोग इटहरीको गोरखा डिपार्टमेन्ट पछाडिको ९ तले घर र इटहरीको हटियालाइनमा ७ तले घर बनाएका दाइ भाइसनले लगेको रकम नदिई धम्की र तोडफोड भएको छोरी योरुपा र ज्वाइँ प्रकाशकुमार रतनको भनाइ छ । २ वर्ष अगाडि पैसा मागेको र लगातारको प्रस्तावपछि पनि नदिएपछि धाक, धम्की र घरमा तोडफोड भएको रतन बताउँछन् । २०७४ चैैत २९ गते बिहान ७ बजे धम्की आएको र २०७५ साउन २५ गते बिहान साढे १० बजे एक हुल मान्छेसँग आएर घरमा तोडफोड गरिएको रतन बताउँछन् ।

तोडफोडको भिडियो आफ्नो छोराले खिचेकाले प्रमाण रहेको रतन बताउँछन् । उनी भन्छन्, ‘त्यो प्रमाण पनि नभएको भए हामी आफैँले फोडेको भन्थे ।

’ पैसा नदिएपछि सबैभन्दा पहिले धम्की आएपछि इटहरी उपमहानगरमा २०७४ माघ २ गते उजुरी दिए पनि कुनै न्याय नपाएको योरुपा बताउँछिन् । नगरपालिकामा केही नभएपछि इलाका प्रहरी कार्यालयमा उजुरी गर्दा ७० वर्षको मान्छेले कसरी झुटो बोल्छ भन्दै उल्टै थर्काएर पठाएको योरुपाले बताइन् । आँशु झार्दै उनले भनिन्, ‘हामीलाई सहयोग गरेको भन्दै बाबालाई पनि घरबाट दाजुले निकाल्नुभयो । अहिले बाबा एक्लै विराटनगर लाइनमा सिलाइ गरेर दुःखले बस्नुुभएको छ ।’ दाजुले आफूलाई रवि लामिछानेसम्म कुरा लग्ने भन्दै धम्की दिने र पत्रकारहरू सबै आफ्नो भएको भन्दै दुःख दिइरहने योरुपाले बताइन् । उनले भनिन्, ‘म सामान्य सिलाइ गरी खाने बहिनीलाई दाजुले आफ्नो सोर्सले दुःख दिइरहनु भएको छ ।’ अबको आशा उच्च अदालत विराटनगरमा रहेको योरुपा बताउँछिन् ।

अन्तरिम आदेशसहित निषेधाज्ञाको माग गर्दै २०७५ साउनमा मुद्दा हालेको योरुपा बताउँछिन् । मुद्दा नम्बर ०४–०७५–०३२१ को सो मुद्दाको फैसलाले आफूलाई न्याय दिने आशा रहेको योरुपा बताउँछिन् । ‘सोर्स लागेपछि र कतैबाट केही नलागेपछि अदालतमा मुद्दा हालेको हो’, अदालतबाट न्यायको आशा गरेको बताउँदै योरुपा भन्छिन्, ‘अदालतमा त नगरपालिका, प्रहरी कार्यालय र जिल्ला प्रशासनमा जस्तो सोर्सफोर्स लाग्दैन होला ।’

भाइसन बर्देवा भन्छन्ः ममीलाई झगडा नगर्नू भन्दा मान्नुहुन्नँ, पैसा तिरिसकँे

आफूले आमालाई बारम्बार सम्झाउँदासमेत नमानेका कारण समस्या सिर्जना भएको गीतकार भाइसन बर्देवाको भनाइ छ । ‘बैनी ज्वाइँले मलाई चाहिँदैैन भन्दाभन्दै पैसा दिनुभयो’, उनले भने, ‘मैले नगरपालिकामा बसेरै उनीहरूको पैसा तिरिसकेको छु ।’ जग्गा किन्ने बेलामा आमाको नागरिकता हराएका कारण बैनीको नाममा जग्गा पास गरेको उनले बताए । पछि बैनी योरुपाले जग्गा आफ्नो हो भन्न थालेपछि विवाद बढेको उनको भनाइ छ ।