इटहरी / पटकपटक चोरीका घटनामा संलग्न रहेका विभिन्न स्थानका युवालाई इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पछिल्लो समय बढेको चोरीको ग्राफलाई न्यूनीकरण गर्न प्रहरी सामुुदायिक अभियानमा लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख शिवकुमार श्रेष्ठले २ महिनाको अवधिमा ६५ भन्दा बढी चोरीका घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही चलाइएको जानकारी दिए । आइतबार सार्वजनिक गरिएका खनारका टीकाराम श्रेष्ठ घरको ताला फोरी चोरीमा संलग्न रहेको प्रहरीको अनुसन्धानले पुष्टि भएको छ । त्यस्तै उर्लाबारीका दिनेश अधिकारी (दर्जी) स्कुटर चोरीको आरोपमा पक्राउ परे ।
नेपालेडाँडा भोजपुरका रामकुमार बिष्ट मोबाइल, नगद तथा ल्यापटप चोरीमा संलग्न भएको पाइएको छ । तेह्रथुमका निर्मल दाहाल भने ठूलो परिमाणमा मदिरा चोरीको आरोपमा पक्राउ परे । त्यस्तै, वीरगञ्जका निरज राय यादव सिक्री चोरीको घटनामा संलग्न भएको आरोपमा पक्राउ परे भने गढी गाउँपालिकाका दिनेश मरिक र पश्चिम कुशाहाका शससुल हक साइकल चोरीमा संलग्न भएको पाइएपछि पक्राउ गरी इटहरी प्रहरीले मुुद्दा चलाएको छ ।
चोरीको ग्राफ बढेसँगै इटहरी प्रहरीले सर्वसाधारणलाई सचेतना अपनाउन आग्रह गरेको छ । इटहरीमा बढेका चोरीका घटनाको प्रकृति हेर्दा भीडभाड स्थानमा बढी चोरीका घटना भएको देखिएको छ । हाटबजार लाग्ने स्थानमा चोरीमा संलग्न भएका व्यक्ति जुुट्ने गरेका छन् । ग्रुप बनाएर एक ठाउँदेखि अर्को ठाउँमा गई ‘टार्गेट’ गर्ने यस्ता ग्रुप गाडीको प्रयोग गरेर होटलमा सुविधासहित बस्ने गरेको समेत पाइएको छ ।
यसरी व्यवस्थित ढङ्गले चोरीमा संलग्न रहेकाको टिम मजबुत र प्रविधिमैत्री हुने गरेको अहिलेसम्मको अनुसन्धानले भेटिएको इटहरीको प्रहरीको अनुुभव रहेको छ । त्यस्तै, चोरीमा १५ देखि २० वर्ष उमेर समूहका युवापुस्ता बढी छन् । प्रायः लागूऔषध प्रयोगकर्ता रहेका युवाले नजिकको भारतीय बजारमा पुुगेर चोरी गरिएका गहना, विद्युतीय सामग्री बिक्री गर्ने र त्यसबापत लागूऔषध नेपाल भित्र्याउने गरेका छन् ।
लामो समयदेखि दुव्र्यसनमा फसेको सोही पुुस्ता अहिले इटहरी क्षेत्रको चोरीको घटनामा संलग्न रहेको छ । गर्मी याममा घरको झ्याल तथा ढोका खुल्लै राखी सुत्दा चोरीको जोखिम बढिरहेको प्रहरीको तथ्याङ्क छ ।