भोजपुरः भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको निजी नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट ११ वर्षीय बालक घाइते भएका छन् ।

भोजपुर नगरपालिका–७, बैंकरोडमा अरुण गाउँपालिका–३, प्याउलीका २४ वर्षीय गोकुल भुजेलले चलाएको को २९ प ३३५४ नम्बरको बुलेट मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट टेम्केमैयुङ गाउँपालिका–३, अन्नपूर्ण घर भई भोजपुरकोे पोखरे बस्दै आएकी गोमा राईका ११ वर्षीय छोरा सूर्य राई घाइते भएका हुन् ।

युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीमा कक्षा–२ मा अध्ययनरत सूर्य स्कुलबाट घर फर्कने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेबेले बताए । भुजेलले आफूलाई मेयरको प्रेस सल्लाहकार बताएका छन् । उपचारको क्रममा बालकको टाउकोमा ६ टाँका लगाईएको बालककी आमा गोमाले बताइन् ।

ठक्कर दिएपछि भुजेलले घाइते बालकलाई घटनास्थलमै छाडेर आफू मोटरसाइकलमा त्यहाँबाट हिँडेको प्रत्यक्षदर्शीले बताए । घटनापछि मेयर आलेको निजी निवासमा राखेको उक्त मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याएको छ । सवारीचालक अनुमतिपत्र नलिएका भुजेललाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको डिएसपी थेबेले जानकारी गराए ।