इटहरीः नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाद्वारा ४ फरक विधाका ४ व्यक्तित्व सम्मानित भएका छन् । सुनसरी शाखाको ४४ औं साधारणसभामा उनीहरू सम्मानित भएका हुन् ।

सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै व्यवसायी राजेश श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै, रेडक्रस इटहरी उपशाखाका पूर्व अध्यक्ष रामचन्द्र अधिकारी सम्मानित भए ।

धार्मिक तथा सामाजिक क्षेत्रबाट समाज विकासमा योगदान पुर्याएको भन्दै हेमप्रसाद घिमिरेलाई सम्मान गरिएको हो । साहित्य र कला क्षेत्रबाट मनु मञ्जिललाई सम्मान गरिएको छ । प्रमुख अतिथि प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले उनीहरूलाई सम्मान गरेका हुन् ।

सम्मानपछि बोलेका तुम्बाहाले देश अझै समृद्ध नभइसकेको र अविकसित मुलुकमा अनेक खालका प्रकोप आउने भएकाले नेपाल रेडक्रस सोसाइटीको भूमिका महत्वपूर्ण रहेको बताए । प्राकृतिक प्रकोपमा रेडक्रसले गरेको सहयोग सह्रानीय रहेको उनको भनाइ थियो ।

त्यस्तै, सुनसरी शाखाका सभापति उमेश थापाले नेपाल रेडक्रस सोसाइटीले प्रकोपको समयमा भन्दा अन्य समयमा पनि मानव हितमा काम गरिरहेको बताए । रगतको अभावमा छट्पटाइरहेका मान्छेको उद्धारमा रेडक्रसले ब्लड बैंक खोलेर सहयोग गरिरहेको पनि उनले बताए ।