ताप्लेजुङः जिल्ला मालपोत कार्यालय ताप्लेजुङले खुलाएको मोहियानी हकदाबीमा न्यून सङ्ख्याको मात्र निवेदन परेको छ ।

पुस १६ गतेदेखि माघ १५ गतेसम्मको निर्धारित समयमा ९ जनाले मात्रै निवेदन दिएको कार्यालयले जनाएको छ । मालपोतको स्रेस्तामा भने १ सय ५२ जना मोही देखिएका छन् । पर्याप्त सूचना गर्दागर्दै पनि कम निवेदन आएको मालपोत अधिकृत भगिमान मादेनले बताए ।

भूमिसुधार मन्त्रालयले पटकपटक गरी २०७४ सालयता ३ पटक मोहियानी दाबी गर्ने व्यक्ति र जग्गाधनी दुवैले निवेदन दिने गरी सूचना प्रकाशित गरेको छ ।

केन्द्रबाट पत्राचार भएपछि स्थानीय एफएम रेडियोहरूबाट समेत सूचना प्रशारण गरेको मादेनले बताए । यसअघि गरिएको सूचनामा ४४ जनाले निवेदन दिएका थिए । तीमध्ये १२ वटाको फछ्र्योट गरिएको छ भने अन्य प्रक्रियामा छन् ।

पछिल्लो पटक परेका निवेदन पनि फछ्र्योटको प्रक्रियामा छन् । ऐनमा व्यवस्था भएअनुसार मालपोतले १५ दिनभित्रमा जग्गाधनीलाई कार्यालयमा उपस्थित गराउनुपर्छ र मोही हो या होइन यकिन गर्नुपर्छ । तर भौगोलिक विकटतालाई हेरी बाटोको म्याद राखेर फछ्र्योट गर्ने तयारी भएको मादेन बताउँछन् ।

जग्गा दिने व्यक्ति सहमतिमा आए दुई पक्षको समझदारीमा तुरुन्तै बाँडफाँड हुन्छ । सहमति नभए दुवै पक्षलाई राखेर १ वर्षभित्र जग्गा लेनदेन हुनेगरी प्रक्रिया शुरु गरिन्छ । मन्त्रालयले यसै आर्थिक वर्षमा टुङ्ग्याउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

स्रेस्तामा उल्लेख भएका र माग गर्नेले आफूले उपभोग गरेको आधा जग्गा पाउने मादेनले बताए । स्रेस्तामा उल्लेख भएका व्यक्ति नभए तिनका छोरानातिले पनि पाउने बताइएको छ । ऐनमा उल्लेख भएअनुसार मोहियानी हक दाबी गर्ने धेरै भएमा वा एकाघरका बाबुछोरा, दाजुभाइ भए जग्गा दिनेले आफूले रुचाएको व्यक्तिलाई नामसारी गरिदिन सक्छ ।

मोही र जग्गाधनी मिलेको खण्डमा जुनसुकै बेला पनि लेनदेन हुन्छ । चालु आर्थिक वर्षमा मात्र २ वटा जग्गा बाँडफाँड भएको कार्यालयको तथ्याङ्कमा छ ।