धरान: प्रसिद्ध भाषाशास्त्री प्रा.डा. टङ्कप्रसाद न्यौपानेको नाममा अाइतवार यहाँ अध्ययन अनुसन्धान केन्द्र गठन भएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भएको विद्वान् तथा स्रष्टाहरूको भेलाले सो केन्द्र गठन गरेको हो ।

वरिष्ठ कवि अनिल पौडेलको अवधारणामा धरान-14 को वडा समितिले चासो देखाएपछि यो योजनाले मूर्त रूप लिन लागेको हो । भाषाशास्त्री प्रा.डा. न्यौपाने धरान-१४ कै बासिन्दा हुन् । भेलामा कवि पौडेलले केन्द्रका सदस्यहरूको नाम प्रस्ताव गरेका थिए ।

केन्द्रमा हरिप्रसाद दाहाल, डा. अमृत श्रेष्ठ, एकु घिमिरे, राज माङ्लाक, विष्णु न्यौपाने, टीका आत्रेय, सागरमणि सुवेदी, दीपक सुवेदी, विश्वजित राईलगायत स्रष्टाहरू छन् । समितिको पहिलो बैठकले जिम्मेवारी बाँडफाँट गर्ने बताइएको छ । सो अवसरमा केन्द्रका परिकल्पनाकार कवि पौडेलले नेपाली भाषा-साहित्यको विकासमा डा. न्यौपानेले दिएको योगदानलाई सम्मान गर्न केन्द्रकाे अवधारणा ल्याइएकाे बताए । मन्तव्यको क्रममा डा. न्यौपाने भावुक भएका थिए ।

उनले आफ्नो परिवारका सबै सदस्य विदेशमा भएकाले अब आफ्नो लागि यो समाज नै परिवार भएको बताइरहँदा आफूलाई नियन्त्रण गर्न उनलार्इ निकै कठिन भएको थियो । कार्यक्रममा सहभागी हुन भारतका आसाम, मणिपुर, दार्जिलिङ, सिलिगुडी, मिरिकलगायत तथा नेपालका विभिन्न स्थानबाट स्रष्टाहरू आएका थिए ।

49946754_2082884681934023_5932841349068881920_n

कार्यक्रमकी प्रमुख अतिथि धरानकी कार्यवाहक मेयर मन्जु भण्डारीले केन्द्रलाई हरेक प्रकारले सहयाेग गर्न तयार रहेकाे प्रतिबद्घता व्यक्त गरिन् । धरान उपमहानगर वडा नं 14 को आयोजनामा भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले गरेका थिए । साे अवसरमा भट्टराईले केन्द्रको सफलताका लागि सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका वक्ताहरूले डा. न्यौपाने देशकै निधि भएका हुँदा उनको नाममा केन्द्र स्थापना हुनु उपयुक्त भएको धारणा राखेका थिए । त्यसअघि बिहान विजयपुर चोकमा आयोजित मितेरी रचना वाचन कार्यक्रममा नेपाल र भारतका स्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा भारतीय साहित्य अकादमी पुरस्कार विजेता लोकनाथ चापागाईं र जीवन रानाले पनि रचना वाचन गरेका थिए ।

भयवाद अध्ययन केन्द्र, धरानको संयोजनमा भएको रचना वाचन कार्यक्रमको सञ्चालन दीपक सुवेदीले गरेका थिए भने पछिल्लो कार्यक्रम एकु घिमिरेले सञ्चालन गरेका थिए ।

mid-page-add-from-magh-25 1