इटहरी / साउन २४ गते बिहीबार २४ औँ विश्व आदिवासी दिवसको अवसरमा दिइएको प्रदेश बिदामा प्रदेश सरकार असफल भएको छ । प्रदेश सरकारको बिदा सरकारी कार्यालयहरूले पनि मानेका छैनन् । सबै जिल्ला प्रशासन कार्यालयहरू खुल्ला रहे ।
इटहरीमा रहेको प्रदेश १ को अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय खुल्ला रहेको कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीले बताए । यस्तै, इटहरीमै रहेको पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान कार्यालय पनि खुल्ला रहेको कार्यालयका निर्देशक रामविलास साहले बताए । अख्तियारका कार्की र क्षेत्रीय कृषि कार्यालयका साहले आफूहरू संघीय सरकार मातहतका भएकाले प्रदेशको बिदाले नछोएको बताए ।

अदालत पनि खुल्ला
प्रदेशका अख्तियार र कृषि अनुसन्धानजस्ता प्रादेशिक कार्यालयहरू मात्रै होइन प्रदेश १ को उच्च अदालत पनि खुल्ला रहेको अधिवक्ता भोजराज श्रेष्ठले बताए । प्रदेशको उच्च अदालतसहित १४ जिल्लाका सबै जिल्ला अदालतहरू पनि खुल्ला रहे । मालपोत कार्यालय, नापी कार्यालय र अन्य संघीय सरकारको प्रत्यक्ष मातहतमा रहेका कार्यालहरू पनि खुल्ला रहे ।

वित्तीय संस्था पनि खुल्ला
सरकारी कार्यालयहरू जस्तै सरकारी र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरू पनि खुला रहे । इटहरीका क वर्गका बैंकहरूदेखि जीवन बीमा कम्पनी अनि फाइनान्सहरू खुल्ला रहे । प्रदेश सरकारले बिदा दिँदा पनि किन बिदा दिइएन भन्ने बारेमा बुझ्दा सिद्धार्थ इन्स्योरेन्स इटहरीका व्यवस्थापक ज्ञानेन्द्र बस्नेतले प्रदेश बिदाको बारेमा आफूले फेसबुकबाहेक अन्तबाट कुनै जानकारी नपाएको बताए ।
यस्तै, इटहरीमा शाखा कार्यालय रहेको क वर्गको बैंक हिमालयन बैंकका व्यवस्थापक मनोज श्रेष्ठले आफ्नो बैंक प्रदेश सरकारभन्दा नेपाल राष्ट्र बैंक मातहत रहेको बताए । ‘हामीले नेपाल राष्ट्र बैंकले भनेको दिन मात्रै बिदा गर्ने हो त्यसमा कहिलेकाहीँ शनिबार पनि खुल्ला गर्नुपर्ने हुन्छ’, श्रेष्ठले भने, ‘तर, आज बिदा दिने बारेमा हामीलाई कुनै पनि सूचना आएको छैन र बैंक खुल्यो ।’
निजी बैंक तथा वित्तीय संस्थाहरू मात्रै होइन सरकारी बैंक पनि इटहरीमा खुल्लै रहे । प्रदेश १ सरकारको बिदामा नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू पनि खुल्ला रहे । यस बारेमा राष्ट्रिय वाणिज्य बैंक इटहरी शाखाका प्रमुख दुष्यन्त निरौलाले आफूलाई कुनै सूचना नआएकाले बैंक खुल्ला भएको बताए ।
यसरी सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू खुल्ला भएको प्रदेश १ का विद्यालयहरू भने बन्द भए । सरकारी र निजी दुवै किसिमका विद्यालयहरू बन्द रहे । यस्तै, प्रदेशका सबै स्थानीय सरकार पनि बिदा भए ।

कर्मचारीले प्रदेश सरकारलाई अटेर गरेको मन्त्रीको गुनासो
यसरी प्रदेश १ सरकारले दिएको बिदा कार्यान्वयन नभएपछि प्रदेश १ का मन्त्रीहरू रुष्ट भएका छन् । उनीहरूले कर्मचारीहरूको केन्द्रीकृत मानसिकताका कारणले बिदा नगरेको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कर्मचारीहरूले संघीयताको अर्थ नबुझेर बिदा पूर्ण कार्यान्वयनमा नआएको बताए । तर, यस विषयमा प्रदेश १ का गृहमन्त्री तथा मुख्यमन्त्री शेरधन राईले भने सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।