धनकुटा: धनकुटाको चौविसेमा बाबुबाट छोरी बलात्कृत भएको खुलासा भएको छ । चौविसे गाउँपालिकामा ३६ बर्षीय बाबुबाट १६ बर्षीय छोरी बलात्कारमा परेको प्रहरीले जनाएको छ । छोरीको स्वास्थ्य परीक्षण गर्दा ८ महिनाको गर्भ रहेको चिकित्सकहरुले जनाएपछि पीडितलाई थप संकट भएको छ ।

श्रीमती घरमा नभएको मौका पारेर पटक पटक बलात्कृत भएकी छोरीको गर्भ रहेको आठ महिना पछि जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएकी छन् । विगत दुई बर्षदेखि डर त्रास देखाएर धम्की दिदै पटक पटक बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । उजुरीपछि बाबुलाई पक्राउ गरिएको धनकुटाका प्रमुख, प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । 

बालिकालाई स्थानीय महिला पुनस्थापना केन्द्रमा राखिएको केन्द्रका अध्यक्ष हिमाकुमारी चेम्जोङले जानकारी दिइन् । पीडितलाई थप पिडा नहोस भनेर पीडकको नाम, थर, वतन गोप्य राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।