झापा/ प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कुनै पनि उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर नलाग्ने बताएका छन् ।
तीन तहको सरकारको संरचना बनेसँगै उद्योग व्यवसाय क्षेत्रमा दोहोरो करको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता उद्योगी–व्यवसायीमा व्याप्त रहिरहेका बेला मन्त्री आङ्बोले दोहोरो कर नलाग्ने स्पष्ट पारेका हुन् ।
आदिवासी जनजाति महासंघ भद्रपुर र भद्रपुर नगरपालिकामा गठित आदिवासी जनजाति नगर समितिको संयुक्त आयोजनामा पृथ्वीनगरमा आयोजना गरिएको २४ औं विश्व आदिवासी दिवसमा सहभागी हुन झापा आएका मन्त्री आङ्बोले भद्रपुरमा उद्योगी व्यवसायीसँगको भेटमा भने, ‘अहिलेको तिनै तहका सरकारको अर्जुनदृष्टि भनेको आर्थिक समृद्धि हो र त्यो हासिल गर्न उद्योग वाणिज्य क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासबिना सम्भव छैन ।’
झापा उद्योग संघले आफ्नै सभाहलमा संयोजन गरेको स्वागत सम्मान तथा भेटघाट कार्यक्रममा भद्रपुरका प्रतिष्ठित उद्योगीहरूले उद्योग क्षेत्रले सामना गर्नु परिरहेका समस्याका बारेमा मन्त्री आङ्बोलाई अवगत गराएका थिए ।
संघका कार्यवाहक अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले नयाँ श्रम ऐनले चिया उत्पादकहरूलाई मार परेको भन्दै पुनरावलोकन गर्न आग्रह गरे भने संघका पूर्व अध्यक्ष चण्डी पराजुलीले अझै पनि उद्योगीहरू कतैकतै दोहोरो करको मारमा परिरहेको गुनासो गरे ।
उनले मेचीनगर नगरपालिकाले आयात तथा निर्यातजन्य वस्तु बोकेका ट्रकमा ‘प्रदूषण कर’ शीर्षकमा कर लिन थालेको र त्यसबाट उद्योगीहरूलाई असर परिरहेको गुनासो गरे ।
संघका प्रेस सल्लाहकार गोपाल गिरीले सञ्चालन गरेको कार्यक्रममा मन्त्री आङ्बोले केही स्थानीय तहहरूले त्यस्ताखाले कर लगाएको आफूले पनि सुनेको भन्दै त्यस्ता कर हटाउन पहल गर्ने आश्वासन दिए ।
कार्यक्रममा झापा क्षेत्र नं ३ अन्तर्गत समानुपातिकतर्फका प्रदेश सदस्य ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष परशुराम अग्रवाल, उद्योग संघका उपाध्यक्ष दिपेश ढकाल, चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीलगायत भद्रपुर क्षेत्रका चिया उद्योगी, चामल उद्योगी, ग्यास तथा सिमेन्ट उद्योगीहरूको सहभागिता थियो ।