इटहरी: गत भदौ ४ गते सुनसरीको हरीनगर गाउँपालिकास्थित भुटाहा बजारमा हत्या भएका खुर्सीद आलमको हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन । हत्या भएको ६ महिना पुरा हुँदा समेत हत्यारा पत्ता लाग्ने छाँटकाँट देखिएको छैन ।
बिद्यालयको मिटिङ सकेर घर फर्कने क्रममा उनको हत्या भएको थियो । हत्या लगत्तै भुटाहा बजार तनाबग्रस्त बन्यो । छानवीन समिति गठन भयो । शहीद घोषणा लगायत पीडितको परिवारलाई १० लाख रुपैयाँ सरकारले प्रदान ग¥यो । पीडित परिवारले धेरै आश्वासन पाए तर अझै न्याय पाउन सकेका छैनन् ।
खुर्सीद मुस्लिम समुदायका अगुवा नेता हुन् । प्रहरी अनुसन्धानले भने ठोस रुपमा आफ्नो प्रतिवेदन बुझाउन सकेको छैन । प्रहरीको अनुसन्धान फितलो हुनु र हत्यारा पत्ता नलाग्नुले पारिवारिक वातावरण झनै त्रसित बन्दै गएकोछ ।
खुर्सीद आलमको परिवार पनि अझै पनि न्यायको पर्खाइमा रहेकोछ । उनका दाजु जावेद आलम अझैसम्म शान्तिसँग बस्न सक्ने अवस्था नरहेको बताउँछन् । कुनै गल्ती नभएको भाईलाई हत्या गर्नेले भोलि आफ्नो पनि ज्यान लिनसक्ने भन्दै उनी अझैसम्म त्रासमै दिन काट्नुपरेको दुखेसो पोख्छन् । गृहमन्त्री स्वयम् आएरै न्याय दिने बाचा गरेपनि अहिलेसम्म अपराधी पत्ता नलाग्दा न्याय पाइँदैन होलाजस्तो लाग्न थालेको उनी सुनाउँछन् ।
श्रीमती खोदीजा बेगम पनि सरकारले पैसा दिएर न्यान दिन नखोजेजस्तो गरेको हो कि भन्छिन् । आफुलाई पैसाकोभन्दा न्यायको खाँचो परेको उनको भनाई छ । ‘आज मेरो श्रीमान्को हत्या भयो भोलि अरु कसैको हत्या होला ।,’ भन्छिन् , ‘यसरी नै सबैका श्रीमान्को हत्या भयो भने न्याय नपाएर पैसा पाउँदा कसैको पनि मन बुझ्दैन ।’ चार छोरी र तीन छोराका बाबु खुर्सीदको हत्यापछि परिवार अभिभावक विहिन भएको छ ।
खुर्सीदका छोरा सहाजीद आलम बाबु गुमाउँदाको पिडा सम्झन चाहँदैनन् । सरकारले शहीद घोषणा गरेर १० लाख रुपैया दिएपनि न्याय दिन नसकेको उनको भनाई छ । गृहमन्त्रीले आफ्नै अगाडि न्याय दिन्छु भनेपनि अहिलेसम्म हत्यारा पत्ता नलागेकोमा उनी दुखेसो पोख्छन् । ‘अहिले पनि घरमा कोही नयाँ मान्छे आयो भने शङ्का लाग्छ ।,’ भन्छन् , ‘घरमा बस्ने अवस्था छैन । तर पनि सरकार र प्रहरी प्रशासनले कुनै चासो देखाउँदैन ।’
उता खुर्सीदको हत्या लगत्तै छानबिन टोली नै गठन भयो । एसएसपी किशोरकुमार दाहालको नेतृत्वमा बनेको टोलीले अझैसम्म अनुसन्धान गरि रहेकोछ । तर अहिलेसम्म कोही पनि अपराधी पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार प्रहरीले अनुसन्धान अन्तिम चरणमा पु¥याएको भने पनि के प्रगति भइरहेको छ अहिले नै उल्लेख गर्न नमिल्ने बताउँछन् । प्रहरीले फिदा हुसेनको हत्याको बिषयमा प्रगति गरेकोले खुर्सीदको पनि ढिलो चाँडो हत्यारा पत्ता लाग्ने उनको भनाई छ ।
खुर्सीद आलमको हत्या भएको ३ महिना लगत्तै फिदा हुसेनको हत्या भएको थियो । पछिल्लो समय सुनसरीको दक्षिणी क्षेत्रमा सुरक्षा संवेदनशिलता बढ्दै गएको छ । मुस्लीम अगुवालाई लक्षित गरी गरिएको हत्याले सम्पूर्ण मुस्लीमहरु मथि नै सुरक्षा संवेदनशिलता बढेको मुस्लीम अगुवा जाकीर हुसेनको भनाईछ । नियोजित रुपमा मुस्लीम समुदायमाथि प्रहार गर्ने काम भइरहेको प्रति उनी रुष्ट देखिन्छन् । भन्छन् ,‘मुस्लीम समुदाय सुरक्षित हुन सकेन भने यो देशमा कोही पनि सुरक्षित छैनन् । त्यसैले यो सरकारले मुस्लिमको सुरक्षामा ध्यान देओस् ।’