लक्ष्मी उप्रेती
मेचीनगर, ७ माघ ÷ माइती नेपालको प्रयासमा भारतको मणिपुरबाट उद्धार गरिएका १ सय ४७ महिला र ३२ जना पुरुष गरी कुल १ सय ७९ जना नेपालीलाई मङ्गलबार विहान नेपाल ल्याईएको छ ।
पूर्वी काँकरभिट्टा नाकासम्म भारतीय नम्बर प्लेटका बसमा उनीहरुलाई ल्याएर नेपाली नम्बर प्लेटका बसबाट राजधानी लगिएको छ । उनीहरुलाई नेपाल ल्याउने समाचार बाहिर आएपछि काँकरभिट्टा क्षेत्रमा विहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । उद्धार गरिएकाको हितलाई ध्यानमा राखेर एउटा एउटा बस गदैं काँकरभिट्टासम्म ल्याइएको थियो । भारतीय सवारी साधनबाट नेपाली सवारी साधनमा चढाउने क्रममा सञ्चारकर्मीहरुलाई त्यहाँ जान रोक लगाइएको थियो । अधिकाँशले स्वदेशमा रोजगारको अवसर नपाएको र रोजगारीका लागि आफु खुशी हिँडेको बताएका छन् ।

Mid page add from falgun 1st week 1
उनीहरु सवैलाई राजधानी पु¥याएर माइती नेपालमा राखिने र सवै सरकारी गैरसरकारी संघ संस्था, नेपाल सरकारसँग छलफल गरेर उनीहरुको व्यवस्थापन मिलाउने माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए ।

उनका अनुसार माइती नेपालले गोप्य सूचनाका आधारमा भारतस्थित दिल्ली महिला आयोग मणिपुर प्रहरी र स्थानीय सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा मानव बेचबिखनको जोखिमबाट उद्धार गरेका मानिसहरुमा अधिकाँश पूर्वी नेपालका रहेका छन् । उनीहरुलाई उद्धार गर्न माइती नेपालका अध्यक्ष विश्वराम खड्कासमेत त्यहाँ पुगेका थिए ।

उनीहरुलाई मणिपुरको इम्फालबाट म्यानमार हुदैं इराक र दुवई लैजाने क्रममा दलालको फन्दाबाट उद्धार गर्न सफल भएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । घटनामा १ महिला सहित ९ जना आरोपी रहेको बताइएको छ । उनीहरु मणिपुर प्रहरीको नियन्त्रणमा छन् ।
माइती नेपालले मानव तस्करीको यस प्रकारको भयावह घटनामा संलग्न गिरोहलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गरी पीडितलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।