बेलबारीः इलाका प्रहरी कार्यालय बेलबारीले १० वर्ष अघि हत्या गरी फरार रहेका १ जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका– २ घर भएका ४३ वर्षीय शरण भट्टराईले बिर्तामोड– ४ का २७ वर्षीय दीपक पाण्डेलाई २०६५ साल चैत ३१ गते मोरङको साबिकको डाँगिहाट गाविसको भाउन्नेमा ल्याई हत्या गरेर फरार रहेका थिए ।

भारतमा लुक्दै आएका उनलाई नेपाल आएको मौका पारेर झापा जिल्लाको काकडभिट्टाबाट मिति २०७५ साल फागुन ७ गते पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ ।

कार्यालयले आज पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रहरी प्रमुख रामकुमार राईले दिएको जानकारी अनुसार मृतकले चलाएको मारुती कार लुट्ने मनसायले हत्या गरिएको देखिन्छ ।

राईका अनुसार हत्या पश्चात् मृतकको को १ .च. ३८५० नम्बरको मारुती कार अभियुक्तले लिएर गएको र सो कारलाई पोखराको हिरा मोटर पार्टस एण्ड ग्यारेजमा ६५ हजारमा बिक्री गरेको खुलेको छ । अभियुक्त भट्टराई शिक्षण पेशामा आबद्ध रहेको बताइएको छ ।