झापा/ भवनभन्दा अग्लो पर्खाल, कडा सुरक्षा घेरा र निरन्तरको निगरानीलाई छल्दै झापा कारागार भद्र्रपुर परिसर भित्रबाटै एक कैदी फिल्मी शैलीमा आइतबार दिउँसो फरार भएका छन् ।

गौरादह–८ जुरोपानी निवासी अन्दाजी २४ वर्षीय उमेश माझी सुरक्षा घेरालाई झुक्याउँदै फरार भएका हुन् । माझी दिउँसो नै फरार भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए । सदाझै बेलुका कैदी गन्ने क्रममा एक जना कैदी नपुगेपछि खोजी गर्दा माझी फरार भएको घटना बाहिर आएको हो ।

जिल्ला अदालतको आदेशअनुसार २०७१ साल असार ७ गतेदेखि कर्तव्य ज्यान मुद्दामा आजीवन कारावास सजाय भोगिरहेका माझी यस अघि इलेक्ट्रिसियनको काम गर्ने गरेको प्रहरीले बताएको छ । दिउँसो कारागारको पर्खालमा बिजुली मर्मत गर्न माझीले सिँढी प्रयोग गरेका थिए । प्रहरी उपरीक्षक बस्नेतका अनुसार सोही समयमा माझी फिल्मी शैलीमा फरार भएका हुन् ।

कारागार भित्रैबाट कैदी फरार भएपछि कारागारमा ठुलै खैलाबैला मच्चिएको छ । ड्युुटीमा रहेका सुरक्षाकर्मीमाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ । फरार भएका माझीको खोजी व्यापक पारिएको प्रहरीले बताएको छ ।