धरान/ धरान–५, साउने टोलमा आफ्नै मामाले १७ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । पीडित परिवारले उजुरी दिएको झण्डै २ महिना बित्न लाग्दा पनि प्रहरीले पीडकलाई पक्राउ गर्न सकेको छैन ।

लामो समय बितिसक्दा पनि प्रहरीले पीडकलाई समात्न नसकेपछि पीडित परिवारले महिला सञ्जाल धरानमा निवेदन दिएको थियो । त्यसपछि मात्र यो जघन्य अपराधको घटना सार्वजनिक भएको हो । ती किशोरीलाई आफ्नै मामा झमकबहादुर बस्नेतले गत फागुनमा बलात्कार गरेका थिए । बिहानै कलेज जाने उनी कलेज जानै छोडेपछि मात्र परिवारले घटनाबारे थाहा पाएको थियो । पीडक बस्नेत सोही वडामा सञ्चालित मदर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल पनि हुन् । पीडित बालिका र उनको घर सय मिटरको दुरीमा मात्र छ ।

३ महिनापछि परिवारले थाहा पायो
घटनाबारे जेठ अन्तिम साता मात्र थाहा पाएका अभिभावकले अनेक दबाबका बीचमा असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका थिए । त्यसपछि फरार बनेका बस्नेतलाई अझै प्रहरीले समात्न सकेको छैन । पीडक बस्नेत पक्राउ पर्न नसक्दा पीडितमा मानसिक असर सँगै डर पैदा भएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । लामो समय बितिसक्दा पनि पीडक पक्राउ नपरेको भन्दै दबाब स्वरूप आइतबार महिला सञ्जाल धरानले उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो । पीडितका परिवार र महिला अधिकारकर्मीले पीडक पक्राउ गर्न ढिलाइ गर्नुमा प्रहरीको नियत र कार्यशैलीमाथि शङ्का गरेका छन् ।

महिला सञ्जालकी अध्यक्ष सविता राईले अनुसन्धान मात्र भइरहेको प्रहरीको प्रतिक्रियाले घटनालाई कमजोर बनाउन खोजेको हो कि भन्ने आशंका जन्मिएको बताइन् । उनले चाँडो पीडकलाई पक्राउ गरी कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएको पनि बताइन् ।

‘पीडक पक्राउ नपर्दा पीडितलाई झनै पीडा दिने काम भइरहेको छ । पीडितले न्याय चाँडो पाउनुपर्छ भन्ने हाम्रो माग हो । कसैको दबाब र प्रभावमा प्रहरी प्रशासन पर्नुहँुदैन,’ उनले भनिन् ।

पीडित किशोरीका बाबुले पनि पीडक पक्राउ नपर्दा न्याय पाउन नसकेको प्रतिक्रिया दिए । ‘मैले निदेवन दिएकै ५०÷५१ दिन भइसक्यो । अहिलेसम्म त्यो मान्छे किन पक्राउ पर्दैन ? न्याय पाउन कहाँकहाँ पुग्नु पर्ने हो ?’ इलाका प्रशासन कार्यालयका प्रमुखलाई उनले प्रश्न गर्दै भनेका थिए, ‘छोरीको अवस्था ठीक छैन, मलाई मार्दिन्छु भनेकाले ऊ डराइरहेको छ । अहिले अस्पतालमा उपचार भइरहेको छ । उनलाई यो हालतमा पु¥याउनेलाई जसरी भए पनि कडा कारबाही गर्नुपर्छ ।’

पीडित किशोरीको भ्वाइस अफ चिल्ड्रेनको पहलमा बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । सो संस्स्थाकी मनोपरामर्शदाता प्रतिमा खतिवडाले पीडित बालिका मानसिक रूपमा ज्यादै विक्षिप्त हालतमा रहेको बताइन् । उनी अझै सामान्य हुन समय लाग्ने उनले बताइन् ।

‘त्यही घटना मनमा खेलाइरहेकी छ, एकोहोरो अवस्था छ । पीडकले कसैलाई भनिस् भने तेरो बाउलाई मार्दिन्छु भनेको रहेछ, त्यसैले पुलिसले अझै किन नसमातेको भनेर डराइरहेकी छ,’ खतिवडाले भनिन् ।

पीडित किशोरीकी जेठी दिदीका अनुसार धरानमा कलेज जान बिहानै साढे ४ बजेतिर बहिनी उठेर हातमुख धुन जान्थिन् । त्यसैबेला पीडक बस्नेतले बहिनीलाई हातपात गर्ने गरेको थियो । गत फागुन २५ गते भने हात समातेर र मुख थुनेर बहिनीलाई जबर्जस्ती गरेको उनले बताइन् ।

‘बहिनी स्कुल जानै छोडी, परीक्षा पनि दिइन । अनि मात्र सबैले के भयो भनेर सोध्दा धेरैपछि रुँदै सबै कुरा बताई,’ पीडितकी दिदीले भनिन्, ‘कसैलाई भनिस् भने तेरो बाउलाई जङ्गलमा बोलाएर मार्दिन्छु भनेको रहेछ । त्यसैले बहिनी एकदमै डराइरहेकी थिई ।’

गाउँमा घटना सार्वजनिक भएपछि पीडक र उनका आफन्तजनले मिल्न निरन्तर दबाब दिएका थिए । राती १२÷१ बजेसम्म घरमा आएर विभिन्न प्रलोभन दिँदै मिल्न दबाब दिएको पीडितका बुबाले बताए । ‘दिनहँु घरमा आएर मिल्न भन्थे । निवेदन लेख्दालेख्दै पनि फोन गरे । निवेदन दिइसकेर पनि मिल्न दबाब दिएको दियै गरे,’ उनले भने ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन कुमार तिम्सिनाले आरोपितको पहिचान भइसकेको र खोजी तीव्र पारिएको बताए । यो घटनाबारे प्रादेशिक अनुसन्धान ब्युरो (रिड) को टोली नै परिचालन गरिएको पनि उनले बताए ।

‘हामीलाई कुनै दबाब आएको छैन । आरोपितको पहिचान खुलिसकेको छ, गम्भीर भएर खोजी गरिरहेका छौं,’ उनले भने ।