झापाः झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विभिन्न पेशा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । केन्द्रीयस्तरबाट यो कार्यक्रम लागू भए पनि स्थानीय तहले आफ्नै कोष खडा गरेर युवालाई स्वरोजगार बनाउन तालीम र ऋण दिने कनकाई पहिलो स्थानीय तह भएको उनले बताए ।

पोखरेलका अनुसार कार्यविधि बनाएर काम अघि बढाइएको छ र यसलाई निरन्तरता दिइने छ । नगरपालिकाले चालु आर्थिक वर्षमा शुरु गरेको युवा स्वरोजगार कार्यक्रमका लागि रु ५२ लाख बजेटसमेत छुट्याएको छ ।

पहिलो चरणमा कोषको रकमबाट २० युवालाई रु २४ लाख वितरणसमेत गरिसकिएको बताइएको छ । तरकारी खेती र पशुपालन तालीम दिएर रु १ लाखदेखि १ लाख ५० हजारसम्म वितरण गरेको उनको भनाइ छ ।

नगरपालिकाले दोस्रो चरणअन्तर्गत हेयर कटिङ, प्लम्बिङ, हाउस वायरिङलगायतका क्षेत्रमा काम गर्नेलाई आवश्यक तालीम दिएर रकम प्रदान गर्ने भएको हो । तालीमपछि प्राप्त रकमबाट युवाले पेशा÷व्यवसाय सञ्चालनार्थ आवश्यक उपकरण खरीदमा रकम खर्चिनु पर्ने बताइएको छ ।

दोस्रो चरणका लागि पनि निवेदन माग गरिसकिएको र प्राप्त निवेदनका आधारमा छनोटमा परेका युवालाई रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत युवालाई २१ लाख प्रदान गरिने भएको छ ।

बढ्दो विदेश पलायन रोक्न र स्वदेशमै स्वरोजगार बन्न युवालाई सहयोग मिलोस् भन्ने उद्देश्यले स्थानीय स्तरमै कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले बताइन् । नगरपालिकाले ३ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराएको जनाएको छ ।