बिर्तामोड/ कारागारबाट कैदी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षक (असई) सहित ६ जना प्रहरी कर्मचारी जिल्ला तानिएका छन् ।
कडा सुरक्षा व्यवस्था हुँदाहुँदै दिउँसै कैदी फरार भएपछि कारागार प्रशासनमा खैलाबैला मच्चिएको थियो । कारागारको सुरक्षा जिम्मेवारी पाएका प्रहरी नायब निरीक्षक (सई) हस्तबहादुर श्रेष्ठ घर बिदामा भएको बेला उनको जिम्मेवारी सम्हालेका प्रहरी सहायक निरीक्षक गणेश राईसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले जिल्लामा बोलाएको हो ।
राईसहित ड्युटीमा खटिएका २ जना प्रहरी हवल्दार, ४ जना प्रहरी जवान गरी ६ जनालाई जिल्ला तानिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
‘प्रहरी कर्मचारीको लापरवाहीले कारागारबाट कैदी भागेका हुनाले उनीहरूलाई तत्काल कारागारको सुरक्षाबाट हटाइसकेका छौँ,’ डिएसपी बस्नेतले भने, ‘प्रहरी सङ्गठनको नीति तथा कानुनबमोजिम प्रहरी कर्मचारीलाई कारवाही हुन्छ ।’
सुरक्षा चुनौती देखिएकाले उनीहरूलाई त्यहाँबाट हटाइएको उनले बताए । उनका अनुसार झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कैदी फरार भएको विषयमा छानबिन समिति गठन गरी कानुन प्रक्रिया अघि बढाइनेछ ।
आइतबार दिउँसो करिब ३ बजे झापा कारागारबाट फिल्मी शैलीमा गौरादह–८ निवासी उमेश माझी फरार भएका थिए ।
जुरोपानीकी १४ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएको थियो । जेल सजाय भोगिरहेका माझी पेशाले इलेक्ट्रिसियन थिए ।
आइतबार कारागारभित्रै बिजुली बनाउने काम गर्न भनेर उनले भ¥याङ (सिँढी) को प्रयोग गरेका थिए । ‘भ¥याङ चढेर काम गर्दागर्दै सुरक्षाकर्मीको आँखा छलेर फिल्मी शैलीमा पर्खाल नाघेर माझी फरार भएका थिए ।
फरार भएको केही घण्टामै गरामनीमा उनलाई प्रहरीले फेला पारे पनि प्रहरीमाथि ढुङ्गा प्रहार गरी माझी पुन भाग्न सफल भएको र थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।