ताप्लेजुङः आफ्नै ४ वर्षीया नाबालिका छोरीको हत्या गर्ने एक महिला पक्राउ परेकी छिन् । मिक्वाखोला गाउँपालिका–४ स्थायी घर भई हाल फुङलिङ नगरपालिकास्थित रिजाललाइनमा डेरा गरी बस्ने ३२ वर्षीया पूजा चेम्जोङ लिम्बू छोरीको हत्या आरोपमा पक्राउ परेकी हुन् ।
लिम्बूले गत शुक्रबार छोरीलाई कुटपिट गरी घाइते बनाएकोमा उपचारका क्रममा जिल्ला अस्पताल इलाममा सोही दिन राती नै ज्यान गएको थियो । लिम्बूलाई इलामबाटै पक्राउ गरी ताप्लेजुङ ल्याइएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
यता, १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा फक्ताङलुङ गाउँपालिकाका २ युवा पक्राउ परेका छन् । गत फागुन ९ गते फक्ताङलुङ गाउँपालिका स्थित लेलेपमा १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय पेम्बाग्याबु शेर्पा र निमा छिरिङ शेर्पा पक्राउ परेका हुन् ।
उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।