ताप्लेजुङः ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लिम्बूले अटो सेक्युरिटी सिस्टम नाम दिएर तयार गरेको यो प्रविधिमार्फत् सेन्सरका माध्ययमबाट एकैसाथ फोटो र भिडियो लिनुका साथै मोबाइलमा फोन जाने सम्मको काम गर्छ ।
घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोकाबाट भित्र प्रवेश गर्नासाथै फोटो र भिडियो कैद गर्न शुरु गर्छ भने मोबाइलमा फोन समेत डायल हुन्छ । जुन नम्बर सेटिङ गरेर राखिएको हुन्छ त्यही नम्बरमा फोन डायल हुन्छ । ढोकाबाट बाहिर निस्किएपछि उक्त प्रविधि निस्क्रिय हुन्छ ।
मोबाइल सेट, मोबाइलकै क्यामेरा र रेडियो लगायतका सामग्री जडान गरेर सेन्सर सहितको सो प्रविधि तयार गर्न झण्डै एक महिना समय लागेको उनले बताए ।
यसअघि उनले अटो पावर अन अफ नामक प्रविधि तयार पारेका थिए । जसले विद्युतको टर्बाइन आफैँ अन अफ गर्ने काम गथ्र्यो । त्यसपछि लाइटिङ कन्ट्रोल मेसिन तयार गरेर एक महिनासम्म स्थानीय जलविद्युत आयोजनामा जडान गरी प्रयोगमा ल्याइएको थियो । जसले चट्याङबाट हुने क्षतिलाई रोक्ने कार्य गथ्र्यो । चट्याङ पर्नुअघि नै विद्युत मेसिनलाई बन्द गर्ने क्षमताको उक्त प्रविधि बनाउन पनि एक महिना समय लागेको उनले बताए ।
पारिवारिक अवस्था कमजोर भएकाकारण कक्षा ८ सम्म मात्रै अध्ययन गरेका उनी सानैदेखि रेडियो, घडी लगायतका इलेक्ट्रोनिक सामान मर्मत गर्ने काम गर्थे । ‘सानै उमेरदेखि रेडियो घडीको मर्मत गर्ने कार्य गर्दै आइयो । रेडियोमा भएका विभिन्न पार्टस्ले के के काम गर्छ भन्ने अध्ययन गर्दै गएँ’, उनले भने, ‘पछि तिनै पार्टस्बाट नयाँनयाँ कुराको सिर्जना गर्न थालियो र अहिले आएर सबैलाई काम लाग्ने प्रविधिको विकास गर्न सफल भएँ ।’ २५ वर्षीय उनले घरको ढोकालाई सेन्सर बाटै खोल्न र बन्द गर्न सकिने प्रविधि बनाउने पनि सुनाए ।
उनको काम देखेर परिवार र छिमेकी नै छक्क पर्ने गरेका छन् । सामान्य अध्ययन गरेका उनले बिनातालीम एकपछि अर्को प्रविधि तयार गरिरहेका छन् । आवश्यक सामग्रीको खरिद र सहजताका लागि राज्यले सहयोग गरे अझ नयाँ प्रविधिको निर्माणमा लाग्ने उनले बताए ।
आफ्नो सीप र मिहिनेतले राज्यलाई नै सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले आफूले सहयोग पाउनेमा ढुक्क रहेको बताए । केही दिन अघि मात्रै आफूले बनाएका सामग्री सदरमुकाममा ल्याएर सञ्चारकर्मीमाझ उनले प्रदर्शन गरेका थिए । अटो सेक्युरिटी नाम दिएर बनाएको सो प्रविधि ढोकामा जडान गरी त्यसले गर्ने काम उनले प्रदर्शन गरेर देखाएका थिए ।