ताप्लेजुङः कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन्् । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन् ।
वि.स.२०६९ सालमा मेरिङ्दे कै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर उनी फरार रहेको प्रहरीले जनाएको छ ।
सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो । बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भएको र ६ महिनापछि सोही चोटकै कारण ज्यान गएपछि कर्तव्य ज्यान शीर्षकमा मुद्दा परिणत भएको प्रहरीले जनाएको छ ।
केदेमलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताइएको छ । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।