इटहरीः विश्वमा भयावह बन्दै गएको लागूऔषध नेपालमा व्यवासयिक ढङ्गले उत्पादन गर्न थालिएपछि यसले नेपाली समाजको अँध्यारो पाटोको उजागर गरेको छ ।
पश्चिम नेपालमा मात्र अफिमजस्तो घातक लागू औषधको खेती हुने गरेका समाचार आउँथे । तर सोमबार मोरङ प्रहरीले मोरङका विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार व्यावसायिक ढङ्गले लगाइएका अफिम खेती बारे गोप्य सूचनाको आधारमा मोरङका सुनवर्षी नगरपालिकाका–२ का ५२ वर्षीय बुर्ज गनगाई र पथरीशनिश्चरे नगरपालिका–५ का ५० वर्षीय चन्द्रप्रसाद सिंह पक्राउ परेका हुन् । उनीहरुले लामो समयदेखि अफिम खेती गर्ने गरेको प्रहरीले सूचना प्राप्त गरेको जानकारी दिएको छ । उनिहरुले लगाएको खेतीबाट करिव १४ सय बोट अफिम नष्ट गरिएको छ ।

विपन्न समुदायका व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी अफिमको बिउ दिने र त्यसको उत्पादन लग्ने गरेको अनुसन्धानबाट खुलेको एसपी केसीले जानकारी दिए । उनले व्यावसायिक ढङ्गले यसरी उत्पादन शुरु गरेको पूर्वी नेपालमा पहिलो घटना भएको भन्दै यसले विकराल रूप लिन सक्ने बताए । ‘महङ्गोमा बिक्री हुने यस्तो प्राणघातक लागुऔषधबारे स्थानीय चनाखो नभए समाजमा विकराल रूप लिने निश्चित छ ।’ उनले भने ।

यसरी लगाइन्छ खेती
प्रहरीको अनुसन्धानले भारतीय व्यापारीले आर्थिक लोभ देखाएर विपन्न समुदायलाई लक्षित गर्ने गरेका छन् । विपन्न समुदायका व्यक्ति पनि कम मिहिनेतमा बढी नाफा लिन सक्ने फसल लगाउन तयार हुन्छन् ।
प्रायः लसुन रोप्ने बारीमा खरानी लगाएको मलमा राम्रोसँग सप्रिने अफिमको भारतबाट बीउ भित्रिने गरेको छ । नेपाली किसानका खेत तथा बारीमा प्रहरी प्रशासनको निगरानी कम हुने स्थान व्यवसायीको ‘टार्गेट’मा हुने गरेको प्रहरी बताउँछ । आर्थिक रूपले कमजोर भएका वर्गलाई लक्षित गरेर किसानलाई जालमा पार्ने प्रपञ्च निकै पहिलेदेखि भएको प्रहरी बताउँछ । कतिपय किसानले त नचिनेरै पनि खेतबारीमा अफिमको बिरुवा लगाइरहेको प्रहरीको दाबी छ । अहिले मोरङ प्रहरीले स्पेशल अप्रेशन टोली नै परिचालन गरेर गाँजा तथा अफिमको बिरुवा लगाउने किसानका विरुद्ध कारबाही चलाएको छ ।

प्रयोगकर्ता बढ्दै
इटहरी प्रहरीले सोमबार मात्र ८ सय ग्राम अफिमसहित एक व्यवसायीलाई अफिम प्रयोग गर्दै गर्दा पक्राउ गरेको छ । यसको सामान्यत बजार मूल्य प्रतिग्राम ३ हजारदेखि शुरु हुन्छ । यस्तो महङ्गो लागूऔषध प्रयोग गर्ने बढिरहेकाले समाजमा लागूऔषध प्रयोगको मात्रा बढिरहेको तथ्याङ्कले देखाएको डिएसपी शिव श्रेष्ठ बताउँछन् ।
नेपाल प्रहरीको प्रदेश १ रानी कार्यालयका प्रमुख डिआइजी केदार रिजालले गाँजा तथा अफिमजन्य वस्तुको खेती फस्टाएको भन्दै यसले चिन्ता बढाएको बताउँछन् । नेपाली समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठिरहेको भन्दै यसलाई निरुत्साहित गर्न सबै जुट्नुपर्ने रिजालको भनाइ छ ।

नाकामा युवाको निगरानी बढाइँदै
डिएसपी रिजाल रानी प्रहरीले सीमापार आउजाउ गर्ने युवालाई विशेष निगरानीमा राखेको बताउँछन् । लागूऔषध प्रयोग गर्ने र व्यापार व्यवसाय गर्ने विरुद्ध चनाखो भएर काम गरेको उनको भनाइ छ । विश्व समुदायमा मुख्य समस्या बन्दै गएको लागूऔषधले नेपाली समाज बिगार्नेमा दुई मत नरहेको उनको बुझाइ छ ।
फिमलाई लागुऔषधको रुपमा कसरी प्रयोग गरिन्छ ?
स–साना दानाको रूपमा फल्ने अफिमको फलबाट चोप निकालिन्छ । प्रहरीको अनुसन्धानअनुसार नेपाली भूमिमा उब्जनी गरिएको अफिमको चोप महँगोमा किनेर भारत लगिन्छ र त्यसलाई प्रशोधन गरेर सेतो र खैरो हेरोइन बनाइन्छ ।
इटहरी प्रहरी प्रमुख डिएसपी श्रेष्ठका अनुसार उच्च गुणस्तरको प्रशोधित पदार्थ सेतो हेरोइनको रूपमा निस्कन्छ भने कमसल पदार्थ खैरो हेरोइनको रूपमा निस्कन्छ ।

नेपाली माटो र हावापानीमा अफिमको बिरुवा राम्रोसँग सप्रिने हुँदा केही गिरोह नेपाली किसानलाई लक्षित गरेर आर्थिक प्रलोभनमा पारी अफिम खेती लगाउन लागि परेका छन् । एकातिर हेरोइनका प्रयोगकर्ता बढ्दै जानु र अर्कोतिर नेपालमै अफिमको खेती बढ्दै जानुले नराम्रो सङ्केत गरेको र हामी सतर्क हुनुपर्ने अवस्था आएको श्रेष्ठ बताउँछन् ।
उनका अनुसार आउँदो युवा पुस्तालाई कुलतबाट टाढा राख्न पनि समाजका अगुवा सचेत हुनैपर्छ । नत्र युवाको काँधमा रहेको नेपाली समाजको अवस्था नाजुक हुने निश्चित छ ।