बेलबारी/ मोरङको लेटाङ– ९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले हालिदिएको विष मिसिएको पानी पिउँदा मङ्गलबार १६ जना विद्यार्थी बिरामी परेका छन् ।

सायप्रिन नामक विषादी हालिएको पानी पिउँदा विद्यार्थी बिरामी परेको प्रधानाध्यापक खेमराज दुलालले बताए । ६ जना छात्र र १० जना छात्रा बिरामी परको दुलालले बताए । उनीहरूको उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ११ बजे विद्यार्थीहरुले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए । खानेपानीको ट्याङ्कीभित्र १ सय मिलिलिटरको सायप्रिन नामक किटनाशक विषादीको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले बताए । घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

000

सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४ सय ९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विषादी हालेको पानी खाँदा कक्षा ९ मा अध्ययनरत अमृत पौडेल, खुश्बु मिश्र, मनकुमारी गजमेर, गीता सापकोटा, अञ्जली लिम्बू र कमला लिम्बू, कक्षा ८ मा अध्ययनरत रिजन बिक र युरेन लिम्बू बिरामी परेका छन् ।

bish photo

त्यसैगरी, कक्षा ५ मा अध्ययनरत मेश राई र सिर्जना निरौला, कक्षा ४ मा अध्ययनरत चेतन खड्का, कक्षा ७ मा अध्ययनरत सृष्टि निरौला र प्रतिमा लिम्बू बिरामी भएका छन् । कक्षा ६ मा अध्ययनरत मनिष थापा र कक्षा १० मा अध्ययनरत पूजा लिम्बू पनि बिरामी भएका छन् । केही विद्यार्थीको उपचार उर्लाबारीमा हुन नसकेपछि विराटनगर रेफर गरिएको छ । विषादी हाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।