मोरङ/ विषादी मिसिएको पानी पिएर बिरामी भएका लेटाङ ९ जाँतेका २५ विद्यार्थी उपचारपछि घर फर्किएका छन् । मंगलबार श्री माध्यमिक विद्यालयको खानेपानीमा अज्ञात समूूहले विष मिसाइदिँदा २९ विद्यार्थी बिरामी भएका थिए ।

विषादी मिसिएको पानी पिएका सबै २९ जना विद्यार्थी बिरामी परेपछि प्राथमिक उपचारका लागि मोरङको मंगलबारे अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएका ४ विद्यार्थीलाई थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको छ ।

मंगलबारे अस्पतालमा उपचार गराइएका २५ जना विद्यार्थी साँझ घर फर्केका छन् । दिउँसो नै सामान्य अवस्थामा फर्के पनि कुनै मेडिकल समस्या नहोस् भन्नका लागि थप ४ घण्टा चिकित्सकको निगरानीमा राखेको र साँझ अभिभावक तथा शिक्षकको जिम्मा लगाइएको उपचारमा संलग्न चिकित्सक डाक्टर धनबहादर श्रेष्ठले जानकारी दिए ।

विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४ सय ९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विषादी हालेको पानी खाँदा बिरामी भएकामध्ये कक्षा ९ मा अध्ययनरत खुश्बु मिश्र र कमला लिम्बू, त्यसैगरी, कक्षा ७ मा अध्ययनरत सृष्टि निरौला तथा कक्षा ६ मा अध्ययनरत मनिष थापालाई विराटनगर रेफर गरिएको थियो । उनीहरुमध्ये खुश्बुको अवस्था गम्भीर रहेको र उनको आइसियु कक्षमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् ।

लेटाङ नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । त्यसैगरी बिरामीका आफन्तले दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

लेटाङ प्रहरी प्रमुख योगराज खतिवडाले घटनामा संलग्नको खोजी कार्य तीव्र पारिएको भन्दै दोषी उम्कन नसक्ने र उसलाई चाँडै कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।