झापाः झापामा २ दिनमा १२ ग्राम लागूऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप १ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधापमा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ जना पक्राउ परेका थिए । मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागूऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उनले बताए । लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यता, मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइनसहित आइतबार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।