इटहरी / पछिल्लो समय नयाँनयाँ विषयप्रति विद्यार्थीको चाख बढ्दै गएको पाइन्छ । पछिल्लो पुस्ताका विद्यार्थी पुराना विषयभन्दा पनि नयाँ र व्यावसायिक विषय पढ्नमा बढी रुचि देखाउन थालेका छन् ।

विद्यार्थीको यस्तै चाहनालाई पूरा गर्न विभिन्न कलेजले नयाँनयाँ विषय ल्याएर आफ्नो कलेजतिर विद्यार्थी तानिरहेको पाइन्छ । नयाँ विषय पढाएर विद्यार्थी आफूतिर तान्ने क्रममा सम्बन्धन नै नलिएको विषय पढाइ हुन्छ भनी झुटो विज्ञापन गर्ने गरेको समाचार पूर्वी बजारमा प्रकाशित भएको थियो ।

यसै क्रममा इटहरी नमुना कलेजले यसै शैक्षिक सत्रदेखि सम्बन्धन लिने भनी बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) विषय पढाइ हुने जनाएको थियो । यसरी झुटो विज्ञापन गर्नु ठगी भएको विश्वविद्यालयले जनाएको छ । तर सो कलेजले सो विषयको पढाइका लागि त्रिभुवन विश्वविद्यालयबाट कुनै स्वीकृति नै नलिएको पाइएको छ । यसको पुष्टि कलेज सञ्चालक समितिका अध्यक्ष केशव खड्काले यसअघि नै गरिसकेका छन् ।


सम्बन्धन कहिले दिने भन्ने अनिश्चित छ : उपकुलपति

नमुना कलेजले यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयबाट बिएचएमको सम्बन्धन लिने बताए पनि विश्वविद्यालय स्रोतले भने सम्बन्धन कहिले दिने भन्ने विषय अहिले अनिश्चित भएको बताएको छ ।

नमुना कलेजले गरिरहेको बद्मासीका विषयमा जानकारी लिन मङ्गलबार भएको फोन सम्पर्कमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. तीर्थराज खनियाँले तत्काल कुनै पनि कलेजले सम्बन्धन पाउने सम्भावना नरहेको बताए । ‘नयाँ कलेजलाई हामीले विगत ३÷४ वर्षदेखि सम्बन्धन दिएका छैनौं’, खनियाँले भने, ‘विषय थपको लागि चाहिँ केही कलेजले स्वीकृति पाएका छन् ।’ बिएचएम विषयका लागि पूर्वका कुनकुन कलेजले आगामी शैक्षिक सत्रमा सम्बन्धन पाउँदैछन् भन्ने जिज्ञासामा उनले आगामी शैक्षिक सत्रको लागि सम्बन्धन या थप विषय पढाइको स्वीकृति नदिइएको प्रष्ट पारे ।

सम्बन्धनको लागि निवेदन दिएका कलेजले कहिले सम्बन्धन पाउँछन् भन्ने विषयमा खनियाँले अनभिज्ञता प्रकट गरे । ‘कहिले दिने भन्ने विषयमा म भन्न सक्दिनँ । तत्काललाई कुनै पनि कलेजलाई सम्बन्धन दिइएको छैन’, उनले भने, ‘त्यो मेरो काबुको कुरा पनि होइन ।’

विश्वविद्यालयले अनुगमन गर्न नसक्दा सम्बन्धन नलिएको विषयमा जथाभावी विज्ञापन गरेको हुन सक्ने बताउँदै त्यस्तालाई कानुनी कार्वाही गर्ने उनले बताए । सम्बन्धन या थप विषय पढाइको स्वीकृति नलिई विज्ञापन गरेको विषयमा उजुरी आएमा त्यस्ता कलेजलाई कडा कारवाही गर्ने उनले बताए ।


सम्बन्धन नलिई विज्ञापन गर्नु ठगी हो : नगरपालिका

सम्बन्धन नलिएको विषयमा नमुना कलेजले विज्ञापन गर्नु अपराध भएको नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपेन्द्रप्रसाद कोइरालाले बताए । नयाँ विषय पढाइ हुन्छ भनेर विज्ञापन गरी पछि सम्बन्धन आएन भनेर विद्यार्थीलाई अर्काे विषय पढ्न बाध्य बनाउनु अपराध भएको कोइरालाले बताए । ठगी भएको विषयमा उजुरी आएमा कारवाही प्रक्रिया अघि बढाउन सकिने उनले बताए ।

उनले नमुना कलेजले गरिरहेको फट्याइँका विषयमा सम्पूर्ण कुरा बुझ्न इटहरी उपमहानगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक द्वारिकलाल चौधरीले निर्देशन दिएकाले सोही अनुसार नमुना कलेजले सम्बन्धन नलिई विज्ञापन गरेको विषयमाथि छानबिन गरिने बताए ।