झापा / स्थानीय तहमा वृद्धि भएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नम्बर– १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा २ घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरूले अवैज्ञानिक रूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिक रूपमा कर निर्धारण गर्न माग गरेका थिए । पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्षद्वय प्रकाश खड्का र दलबहादुर कट्टेलको नेतृत्वमा नगरपालिका पुगेको टोलीले दबाबमूलक कार्यक्रम गरेको पार्टीका १ नम्बर क्षेत्रीय सदस्य विश्वेश्वरप्रसाद भट्टराईले बताए ।
विरोध कार्यक्रमका सहभागीहरूले आफूहरू कर र विकासविरोधी नभए पनि जनताको सामथ्र्यभन्दा बाहिर गएर अप्रत्याशित ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको यो कार्यको विरोधी भएको बताएका छन् । सर्वसाधारण जनताबाट अवैज्ञानिक र अव्यावहारिक कर असुल्ने यो कार्य तत्काल अन्त्य गरी समायोजन प्रक्रिया शीघ्र रूपमा अघि बढाउन समेत उनीहरूले स्थानीय सरकारसमक्ष माग गरेका छन् ।
स्थानीय सरकारले जनताको ढाड सेक्ने गरी गरेको कर वृद्धिले जनता आक्रान्त बनेको र स्थानीय सरकारबाट राहत पाउनुको सट्टा सास्ती बेहोर्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । वार्षिक रूपमा कर तिर्नकै लागि जनताले जग्गा जमिन बेच्नुपर्ने वा विदेश जानुपर्ने स्थिति स्थानीय सरकारले सिर्जना गरेको उनीहरूले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । वडाअध्यक्षद्वय र पार्टीका १ नम्बर क्षेत्रीय सदस्य भट्टराईले संयुक्त रूपमा सो ज्ञापनपत्र बुझाएका थिए । यस्तै बेहोराको ध्यानाकर्षण पत्र वडा नम्बर १० का वडाध्यक्ष सुदय पनेरुलाई पनि बुझाइएको बताइएको छ ।
नगरवासीको शान्तिपूर्ण आन्दोलनलाई स्थानीय सरकारले बेवास्ता गर्दै समयमै उचित सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने र यसबाट हुने प्रतिकूल परिस्थितिको जवाफदेही नगरपालिका बन्नुपर्ने सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।