मोरङः धरानमा मुख्य कार्यालय रहेर प्रदेश १ मा सञ्चालनमा रहेको मितेरी विकास बैङ्कले मोरङका दुई सामुदायिक विद्यालयलाई कम्युटर प्रदान गरेको छ । मोरङका ग्रामीण क्षेत्रमा रहेर विपन्न विद्यार्थीहरू पढाउँदै आएका शिक्षा सदन माध्यमिक विद्यालय र महालक्ष्मी माध्यमिक विद्यालयलाई बैङ्कले कम्प्युटर प्रदान गरेको हो ।
रङ्गेली नगरपालिका ८ दर्वेशामा रहेको महालक्ष्मी माध्यमिक विद्यालयलाई ५ वटा र कानेपोखेरी गाउँपालिका ३ तल्लो हरकपुरमा रहेको शिक्षा सदन माध्यमिक विद्यालयलाई बुधवार ५ वटा कम्प्युटर बैङ्कले दिएको हो । महालक्ष्मी माध्यमिक विद्यालयलाई रंगेलीका मेयर दिलीपकुमार अग्रवालको उपस्थितिमा कम्प्युटर प्रदान गरिएको थियो भने शिक्षा सदन माध्यमिक विद्यालयलाई कानेपोखरी गाँउपालीकाका प्रमुख ताराबहादुर काफ्लेको उपस्थितिमा प्रदान गरिएको हो ।
बैङ्कले कम्प्युटर दिएपछि विद्यालयमा कम्प्युटर ल्याबमा व्यवहारिक अध्ययनमा सहज हुने महालक्ष्मी विद्यालयका प्रधानाध्यापक ज्योति राजवंशीले बताए । कम्प्युटरको व्यवस्थापन भएपछि निजी विद्यालयका सुविधाहरू सामुदायिक विद्यालयमा दिन सफल हुने शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद काफ्लेले बताए । विद्यालय व्यवस्थापन समितिहरूका अनुसार महालक्ष्मीमा ४५० र शिक्षा सदनमा ३०६ विद्यार्थीहरू रहेका छन् ।
मितेरीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीप्रसाद वस्ती आफै पुगेर कम्प्युटर प्रदान गरेका हुन । बैकका सञ्चालन किशन मास्के सहित मोरङका दुई दुर्गम क्षेत्रका विद्यालयलाई कम्प्युटर प्रदान गर्न पुगेका वस्तीले सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइमा अभाव नहोस् भने प्रदान गरिएको बताए ।
बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गरिएको मितेरी बैङ्कका सिइओ तुलसीप्रसाद वस्तीले बताए । उनले भने, ‘तराईमा भएर पनि दुर्गम क्षेत्रमा रहेका सामुदायिक विद्यालय र त्यहाँ पढ्ने विद्यार्थीलाई हौसला दिन कम्प्युटर प्रदान गरेका हौँ ।’ मोरङकै अन्य सामुदायिक विद्यालयहरुलाइ पनि क्रमशः कम्प्युटर प्रदान गरिदै जाने वस्तीले बताए ।