इलामः दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षक रूपमा कुँद्न सिपालु छन् मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली ।

दारको रूखबाट आकर्षक रूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन भ्याइनभ्याइ छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम गाउँपालिका–३ आमचोकलाई कर्मथलो बनाएका रसाइलीले ठेकी कुँदेको स्थलमा पुग्दा जो कोहीलाई पनि हेरिरहँुजस्तो लाग्छ ।

काठको मुढालाई पहिले सामान्य रूपमा तासिन्छ । तासिएको मुढालाई मेसिनमा हालेर कुँद्न थालिन्छ । करीब आधा घण्टादेखि एक घण्टामा सामान्य खालको ठेकी तयार हुन्छ । रसाइलीले ठेकी बनाउन थालेको ३ वर्ष पुग्यो । ‘मैले ठेकी बनाउन शुरू गरेको तीन वर्ष भयो । म घरबाट पहिलोपटक आमचोक आएको हुँ’, रसाइलीले भने, ‘हातमा सीप छ भने पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन । मौसममा ठेकी बनाएर मात्र ४ लाखसम्म कमाउँछु ।’

शुरूमा ७० हजार रुपैयाँमा पम्पसेट मेसिन किनेर व्यवसाय थालेका उनले सबै खर्च कटाएर राम्रो आम्दानी गरेको बताए । ३ वर्षको अवधिमा २ हजार वटा ठेकी, हर्पे, तोङ्बा, डम्बरूलगायतका सामग्री बनाएको उनले बताए । दैनिक ४ देखि ५ वटासम्म ठेकी तयार गर्ने उनी गाउँघरमा दारको ठेकीको माग बढी भएको बताउँछन् ।

अरूले ठेकी बनाएको देखेर नै आफूले काम सिकेको बताउने उनी हातमा सीप भए नेपालमै पैसा कमाइने बताउँछन् । १ एक कुरुवा पानी जाने ठेकी बराबर १ सय २० रुपैया ज्याला लिने गरेको उनले बताए । रसाइलीलाई ठेकी बनाउन आमचोकका इन्द्रप्रसाद अधिकारीले आमचोक बोलाएका हुन् । अधिकारीले दारको रुख खरिद गरेर लाने गरेका छन् । यहाँ बनाइएका ठेकी झापाको बिर्तामोडसम्म बिक्री गरिँदै आएको ठेकी उद्योगी इन्द्र अधिकारी बताउँछन् ।

ग्रामीण भेगमा पशुपालन गर्ने किसान र दूध किनेर उपभोग गर्नेले पनि ठेकी किन्ने गरेको अधिकारीको भनाइ छ । दारको ठेकीमा जमाएको दही पिउँदा विभिन्न खालका रोगसमेत निको हुने विश्वासले मानिसले दारको ठेकी नै खोजेर किन्ने गरेको अधिकारी बताउँछन् ।

darko theki ilam