इटहरीः झापाको चन्द्रगढीबाट काठमाडौं जाने क्रममा फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यति एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकोबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानुन मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य सदस्य छन् ।

विशिष्ट व्यक्तिको उडान होल्ड भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको बताइएको छ । सो दिन झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमान अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ । विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिश गर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सम्बन्धित एयरलाइन्सले अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को उडानबारे विमानस्थललाई जानकारी नगराएका कारण प्रधानमन्त्री चढेको जहाज होल्डमा परेको प्रतिक्रिया दिएका छन् ।