इटहरीः इटहरी उपमहानगरपालिकाले महिला उद्यमीको उत्पादनलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरेको छ । उपमहानगरको कार्यालय परिसरमा खाद्यान्नदेखि सजावटका सामग्रीको प्रदर्शनी भएको हो ।

स्थानीय स्तरमा उत्पादित खाद्यान्न र सजावटका सामग्री प्रदर्शनीमा राखिएको छ । मकैको चामल, तोरीको तेलदेखि तिलको अचारसम्म प्रदर्शनमा राखिएका छन् ।

सजावटका सामग्रीको प्रदर्शन गर्न आएकी कन्नी सदाले प्रदर्शनीमा आफ्नो उत्पादन देखाउन पाएकोमा खुशी लागेको बताइन् । एउटा सजावटको सामग्री तयार पार्न २ दिन लाग्ने र त्यसको बजार भाउ ३ सय रुपैयाँसम्म पर्ने उनको भनाइ छ । इटहरी उपमहानगरले दिएको कुसन र गुडिया बनाउने तालीमबाट आफूहरूले सीप सिकेको उनले बताइन् ।

त्यस्तै, वडा नम्बर १० की वडा सदस्य दुलिया ऋषिदेवले वडाका महिलाहरुलाई व्यावसायिक बनाउन उपमहानगरले सहयोग गरेको बताइन् । गुडिया र क्रिस्टलका माला बनाउने तालीम पाएका महिलाहरुको प्रदर्शनीले उनीहरुलाई आर्थिक उपार्जनमा सहयोग पुगेको उनको भनाइ छ ।

वडा नम्बर १३ का महिलाहरुले झोला बनाउने तालीम लिएका थिए । इटहरीलाई प्लास्टिकको झोलामुक्त नगर बनाउने उद्देश्यले ‘सपिङ ब्याग’ तयार पार्न थालिएको उनीहरुको भनाइ छ । विभिन्न डिपार्टमेन्ट स्टोर र सपिङ मलमा यो झोला उपयुक्त हुने उनीहरुको तर्क छ ।

प्रदर्शनीमा भुटेको मकै, गुन्द्रक, मुलाको सिन्की, मेवा, लौका, मकैको चामल, फापर र कोदोको पिठो लगायत स्थानीय उत्पादन राखिएको छ ।

आफूहरुलाई यस्तो प्रदर्शनीले फाइदा पुग्ने तर्क गर्छिन् व्यवसायी तिला घिमिरे । पहिले विदेशबाट आयात हुने गुडिया आजकाल स्थानीय स्तरमै बनाउन धेरैले सिकिसकेको उनको भनाइ छ ।

१ सय ९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उद्यमी महिलाको उत्पादन प्रदर्शनी गरिएको हो । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने मूला नाराका साथ प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । २ दिने सो प्रदर्शनीले उद्यमी महिलाहरुलाई थप ऊर्जाशील बनाउने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम बताउँछिन् ।

श्रमिक महिलाहरुले आफ्नो उत्पादनलाई बजारमा पु¥याउन नसकिरहेको अवस्थामा यो प्रदर्शनी थप फलदायी हुने उनको विश्वास छ । नगरपालिकाले उपमेयर आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याएसँगै सयौ महिलाहरुको रोजगार सुनिश्चित भएको उनको तर्क छ ।

यस्ता कार्यक्रमहरु थप फलदायी र उपलब्धिमूलक बनाउने विषयमा उपमहानगर गम्भीर भएर लाग्ने उनी बताउँछिन् ।

uddhyami mahila pradarsani  (2) uddhyami mahila pradarsani  (4) uddhyami mahila pradarsani  (5) uddhyami mahila pradarsani  (3)